काठमाडौं- सातदोबाटो युथ क्लब सहिद स्मारक बी डिभिजन लिगको उपाधि जित्दै ए डिभिजनमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फाको मैदानमा आज सम्पन्न खेलमा दोस्रो स्थानको खुमलटार युथ क्लबले श्री भगवती क्लबसँग हार बेहोरेपछि शीर्षस्थानको सातदोबाटो दुई खेल बाँकी रहँदै लिगविजेता बनेर ए डिभिजनमा उक्लिएको हो।
आजको खेलका खुमलटारले भगवतीसँग २–१ गोलको हार बेहोरेको थियो। सो हारपछि एक खेल बाँकी रहेको खुमलटारको २२ अंक छ। त्यस्तै दुई खेल बाँकी रहेको सातदोबाटोको २५ अंक छ।
अब सातदोबाटोले दुवै खेल हारेमा र खुमलटारले एक खेल जितेमा दुवैको समान २५ अंक हुन्छ र हेड टू हेडका आधारमा सातदोबाटो अघि रहने भएकाले उसले लिग जितेको हो।
लिग जितेपछि सातदोबाटोका कप्तान बसन्त तामाङले आफूलगायत अन्य खेलाडी अत्यन्तै खुसी भएको बताएका छन्।
उनले नेपाल समयसँग कुरा गर्दै भने, ‘लिग जितेकोमा यति खुसी छु कि केही बोल्नै सकिरहेको छैन्।’
उनले थपे, ‘हाम्रो दुई वर्षदेखिको मेहेनत, लगन र लगातारको परिश्रमले नै यो नतिजामा पुगेका हौँ।’
लिगमा अहिलेसम्म अपराजित रहेको सातदोबाटो क्लबका अध्यक्ष्य कपिल राना मगरले लगातारको मेहेनतले सफलाता पाएको बताएका छन्।
‘हामीले बी डिभिजन खेलेको १० वर्ष भयो। विगतमा पनि हाम्रो नजिता राम्रै थियो। सानो सानो गल्तीले मात्र एमा उक्लन सकेका थिएनौँ। अहिलो त्यो कुरामा सफल बनेका छौं,’ उने भने।
साथै अध्यक्ष मगरले खेलाडीको मेहेनतको मूल्य पाएको बताएका छन्।
‘ए डीभिजनमा पुगेलगत्तै क्लबले आर्थिक रुपमा पनि केही बलियो हुनुपर्ने भएको छ,’ उनले भने, ‘यसका लागि हामीले स्पोन्सर खोजिरहेका छौं। त्यस्तै अभ्यासको लागि आफ्नै मैदानमा पनि व्यवस्था गर्दै छौ।’