परिवारमै ६० भन्दा बढी क्यान्सरबाट पीडित ! सुन्दा अनौठो लाग्न सक्छ। वरिष्ठ क्यान्सर विशेषज्ञ राजेन्द्र बरालका परिवार र आफन्त गरी ६० जनाभन्दा क्यान्सरबाट पीडित छन्, कतिपयको उपचार जारी छ भने कतिपयको निधन भइसकेको छ।
काठमाडौं– डा. राजेन्द्र बरालले क्यान्सर रोग विशेषज्ञका रुपमा काम गर्न थालेको ३० वर्षभन्दा धेरै भइसक्यो। यसबीच उनले हजारौं रोगीको उपचार गरिसकेका छन्। सन् १९९८ मा भारतको टाटा मेमोरियल अस्पतालमा क्यान्सर रोगसम्बन्धी विशेषज्ञता हासिल गरेर फर्केपछि उनले बीएन्डबी, भक्तपुर अस्पताल, नर्भिक र ओम अस्पतालमा सेवा गरिसकेका छन्।
सार्क फेडरेसन अफ अन्कोलोजीका अध्यक्ष रहिसकेका उनी नेपाल अर्बुद रोग निवारण संस्थाका उपाध्यक्ष छन्।
हजारौं क्यान्सर रोगीको उपचार गरेका डा. बरालका आमा र बुबाको जीवन क्यान्सरले नै चुँडेर लग्यो। काका, काकी र नजिकका आफन्त गरी ६० भन्दा बढी क्यान्सरका बिरामी छन्।
‘सबैलाई फरकफरक प्रकारको क्यान्सर छ। कसैलाई फोक्सो, कसैलाई आन्द्रा, कसैलाई स्तन, कसैलाई पाठेघर र कसैलाई पिसाब थैलीको क्यान्सर भएको छ,’ डा. बराल भन्छन्, ‘१५–२० जनाको त क्यान्सरकै कारण मृत्यु भइसक्यो, धेरैको उपचार भइरहेको छ।’
परिवारमा नै किन यति धेरैलाई क्यान्सर भयो त ?
डा. बराल भन्छन्, ‘धूमपान, शारीरिक व्यायामको कमी, जंक फुड र अखाद्य वस्तुको बिगबिगी, प्रदूषणलगायका कारण क्यान्सरका रोगी बढेका हुन्।’
उनका अनुसार कतिपय वंशाणुगत क्यान्सर हुन्छन्। स्तन क्यान्सर र डिम्बाशयको क्यान्सर वंशाणुगत हुन्छन्। यो पनि क्यान्सरका बिरामीको संख्या बढ्नुको अर्को कारण हो।
नेपाल अर्बुद रोग निवारण संस्थाको प्रतिवेदन अनुसार नेपालमा प्रत्येक वर्ष २० हजार क्यान्सरका नयाँ विरामी थपिन्छन् भने करिब १३ हजारको क्यान्सरकै कारण मृत्यु हुने गरेको छ।
संस्थाका अनुसार नेपालमा क्यान्सर रोगबाट दैनिक औषतमा ३७ जनाको मृत्यु हुन्छ।
विगत ५ वर्षको आवधिमा करिब ४३ हजार क्यान्सर पिडित पूर्ण रुपले निको भएका छन् । हाल नेपालमा करिब ५० देखि ६० हजारको हाराहारीमा क्यान्सर पिडित रहेको अनुमान गरिएको छ । तथ्यांकले देखाए अनुसार विश्वभर गरेर हाल १ करोड ९२ लाख ९२ हजार ७२९ जना क्यान्सर पीडित छन् ।
जसमध्ये करिब ९९ लाख ५८ हजार १ सय ३३ जना बिरामीले ज्यान गुमाइसकेका छन् ।
डा. बराल आफैं क्यान्सर विशेषज्ञ भएकाले परिवारका धेरै सदस्यले उनीसँगै परीक्षण गराउँछन्। उनी भन्छन्, ‘धेरैले परीक्षण गराएकाले पनि हुन सक्छ मेरा आफन्त क्यान्सर रोगी देखिएका।’
धेरै मानिसहरु गम्भीर बिरामी नहुँदासम्म चिकित्सककहाँ नजाने प्रवृत्ति छ। ‘परीक्षण नगरेका धेरैमा क्यान्सर भएको हुन सक्छ,’ डा. बराल भन्छन्।
उनका अनुसार हरेक मानिसका आफन्तमध्ये केही क्यान्सरका बिरामी छन्। तर, रोग लागिसके पनि खुलासा नगर्ने प्रवृत्तिले पनि धेरैलाई यो कति धेरैलाई लागेको छ भन्ने आफन्तलाई नै थाहा नहुने हुनसक्छ।
नेपालमा पुरुषमा मुख र घाँटीको क्यान्सरका बिरामी बढी छन् भने महिलामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका बिरामीको संख्या धेरै छ।
कोही उपचार पीडित नहोस्
डा. बरालले २०३६ सालमा अस्कल क्याम्पसमा आईएस्सी अध्ययन सुरु गर्दा देशमा राजनीतिक आन्दोलन चलिरहेको थियो। पढाइमा अवरोध हुने देखेपछि परिवारले उनलाई बनारस पठायो। आईएस्सीको परीक्षा दिने बेला बिरामी भएपछि उनी नेपाल फर्किए। यता आमा बिरामी थिइन्। बिरामी आमालाई छाडेर उनी बनारस जान सकेनन्।
आमालाई ब्लड क्यान्सर भएको रहेछ। त्यसबेला नेपालमा क्यान्सर उपचार सहज थिएन। ‘किमोको औषधि पाइँदैनथ्यो, भारतबाट मगाइयो,’ डा. बराल भन्छन्, ‘त्यो बेला चिकित्सकले जेजे भने त्यही गर्यौं। औषधि चलाउँदै जाँदा पनि आमाको अवस्था बिग्रँदै गयो र बित्नुुभयो।’
आमाको मृत्युको केही वर्षपछि उनले पुनः अध्ययन सुरु गरे। ‘आफूभन्दा ५–६ वर्ष साना भाइबहिनीसँग पढ्न थालें,’ डा. बराल सम्झन्छन्, ‘भारतको इलाहाबादमा छात्रवृत्तिमा एमबीबीएस पढ्ने मौका पाएँ।’
एमबीबीएस सकेपछि उनी काठमाडौं आएर अन्नपूर्ण नर्सिङ होममा काम गर्न थाले।
काम गर्दागर्दै डा. बरालको चिनजान भारतको टाटा मेमोरियल अस्पतालबाट आएका डाक्टरसँग भयो। उक्त अस्पतालमा भर्नाका लागि आवेदन दिए र भर्ना भए। टाटा मेमोरियललबाट उनी मेडिकल अंकोलोजीस्ट भएर बाहिरिए।
‘ब्लड क्यान्सरको विषयमा पढ्दै जाँदा आमाको मृत्युको कारण थाहा पाएँ,’ उनी भन्छन्, ‘मेरी आमा क्यान्सरले मात्र नभएर औषधिको हाइ डोजले बित्नुभएको रहेछ।’
उनका अनुसार एड्रियामाइसिन नामक औषधि ब्लड क्यान्सरको उपचारमा प्रत्यक्ष उपयोग हुँदैन। भन्छन्, ‘त्यो औषधि आमालाई ७५० मिलिग्रामभन्दा बढी दिन हुँदैनथ्यो। तर, एकै दिनमा ९०० मिलिग्रामका दरले नौ दिनसम्म दिइएछ।’
उता आमालाई क्यान्सर भएको जानकारी दिइएको थिएन।
आमाले भनेको उनी सम्झन्छन्, ‘बाबु म त मर्छु होला, मेरो एउटा इच्छा छ, पूरा गर है।’ बरालले सोधेछन्, के इच्छा आमा ? उनी भन्छन्, ‘आमाले तिमी क्यान्सरको डाक्टर बन है भन्नुभयो। मैले हुन्छ मात्रै के भनेको थिएँ आमाले प्राण त्याग गर्नुभयो।’
पहिलादेखि नै डाक्टर बन्ने सपना देखे पनि केको डाक्टर भन्ने निर्णय गरेका थिएनन्। त्यसपछि भने उनले क्यान्सर रोग विशेषज्ञ बन्ने अठोट लिए।
रोगबारे जानकारी
आमालाई आफ्नो रोगको बारेमा जानकारी नदिएकोमा डा. बराललाई पछुतो छ। बिरामी आत्तिएर झनै समस्या हुन्छ भन्ने धारणाले रोगको अवस्थाबारे जानकारी दिइँदैन।
डा. बराल भन्छन्, ‘हामीले पनि आमालाई रोगबारे जानकारी दिएनौं। तर दिनुपर्ने रहेछ।’
बिरामीलाई कुन रोग लागेको छ, उपचार कसरी हुन्छ, खर्च कति लाग्छ जस्ता सबै जानकारी पाउनु बिरामीको अधिकार भएको उनी बताउँछन्। भन्छन्, ‘अन्य देशमा रोगका बारे सबैभन्दा पहिले बिरामीलाई जानकारी दिइन्छ।’
नेपालमा ८० प्रतिशत आफन्तले बिरामीलाई रोगका बारे जानकारी नदिन अनुरोध गर्ने गरेको उनको अनुभव छ। आफन्तले जानकारी पाएपछि ‘बिरामीलाई नभनिदिनू है डाक्टर साप’ भन्दा उनलाई दु:ख लाग्छ।
उनी भन्छन्, ‘बिरामीलाई भन्ने तरिका फरक हुन्छ। सबै चिकित्सकले त्यो बुझेका हुन्छन्। कतिपय बिरामीलाई विशेष परामर्श पनि चाहिन्छ।’ अझ, त्यही रोग लागेर निको भइसकेका व्यक्तिले दिने परमार्श प्रभावकारी हुने उनी बताउँछन्।
बिरामी ढिलो अस्पताल पुग्छन्
सामान्यतया क्यान्सरका चार वटा चरण हुन्छन्। डा. बरालका अनुसार क्यान्सर पहिलो चरण (जुन अंगमा क्यान्सर भएको छ, त्यही अंगमा मात्र सीमित) मा छ भने निको हुने सम्भावना ८० प्रतिशतसम्म हुन्छ।
दोस्रो चरण (उक्त क्यान्सर केही ठूलो हुनुका साथै बाहिर फैलिने अवस्थामा पुग्छ) मा छ भने निको हुने सम्भावना झन्डै ५० प्रतिशत हुन्छ।
तेस्रो चरण (क्यान्सर बाहिर फैलिए पनि धेरै टाढा पुगेको हुँदैन) मा अस्पताल पुगेका बिरामीमा क्यान्सर रोग निको हुने सम्भावना २० देखि २५ प्रतिशतसम्म मात्र हुन्छ।
चौथो चरण (क्यान्सर एउटा अंगबाट अर्को अंगमा फैलिसक्ने अवस्था) मा पुगेका बिरामी प्रायः निको हुँदैनन्।
नेपालमा ७० प्रतिशत क्यान्सरका बिरामी ढिलो अस्पताल पुग्छन्।
क्यान्सरबारे नेपाली समाजमा जागरुकता छैन। अझै पनि यसलाई छुन नहुने रोग भन्ने धेरै छन्। ‘क्यान्सरका बिरमी ढिलो अस्पताल पुग्नु भनेको चेतना नभएर हो’, डा. बराल भन्छन्, ‘गाउँमा मात्रै होइन, सहरमा पनि अवस्था यस्तै छ।’
विश्वभर क्यान्सरका बिरामी थपिने क्रम बढेको छ। त्यसैले विद्यालय तहको पाठ्यक्रममा यसबारे चेतनामूलक सामग्री राख्नुपर्ने बराल बताउँछन्। उनी भन्छन्, ‘यसबारे हामीले शिक्षा र स्वास्थ्यमन्त्रीलाई पटकपटक भनेका छौं। तर कसैले वास्ता गरेका छैनन्।’
क्यान्सर उपचारमा विकास
एकाधबाहेक अन्य धेरैजसो क्यान्सरको उपचार नेपालमा सम्भव छ भन्नेमा डा. बराल विश्वस्त छन्। उनले करिअर सुरु गर्दा नेपालमा न कुनै क्यान्सर अस्पताल थियो न त क्यान्सरका चिकित्सक।
क्यान्सर लाग्नेबित्तिकै विदेश जानुपर्ने अवस्था थियो। अहिले क्यान्सरको उच्च स्तरका अस्पताल यहीं खुलिसकेका छन्। नेपालको उपचार पद्धतिमा पनि धेरै परिवर्तन आएको उनको बुझाइ छ।
धेरै बिरामीलाई क्यान्सर भएको स्वीकार्न गाह्रो हुन्छ। उनीहरुलाई आर्थिक, सामाजिक, मानसिक असरले झन् सताउँछ। डा. बराल बिरामीको हौसला बढाउन कुनै कसर बाँकी राख्दैनन्। क्यान्सर भएपछि कहाँ जाऊँ, कसलाई पीडा सुनाऊँ भन्ने तनाव हुन्छ।
त्योभन्दा पनि बढी पीडा परिवारलाई हुन्छ। उनी भन्छन्, ‘बिरामी ओछ्यानमा हुन्छ तर पीडा आफन्तलाई बढी देखिन्छ। बिरामीका आफन्तको आत्तिएको मन मैले देखेको छु। उनीहरुको आँसु मेरो हातमा खसेका छन्। बिरामी र आफन्तका आँखा ओभानो बनाउन सके आमाको सपना साकार भएझैं लाग्छ।’
पत्याउनै नसकिने एउटा घटना
१५ वर्षअगाडिको कुरा हो, १२ वर्षकी बालिकालाई स्वास्थ्यमा समस्या देखिएपछि उनकी आमाले बीएन्डबी अस्पताल पु¥याइन्। बालिकाको पाठेघरमा समस्या रहेछ। परीक्षण गर्दा पाठेघरको मुखमा क्यान्सर देखियो।
क्यान्सर रोग विशेषज्ञ डा. बराललाई पत्याउनै कठिन भयो।
आखिर किन यस्तो भयो त?
तीन घण्टासम्मको सोधपुछपछि बालिकाकी आमा र चिकित्सक छाँगाबाट खसेजस्तै भए। ती बालिकाको भनाइअनुसार उनलाई बाबुले पटकपटक बलात्कार गरेका थिए।
परिणामस्वरूप उनलाई पाठेघरको मुखको क्यान्सर भइसकेको रहेछ। शारीरिक सम्पर्कको क्रममा महिलामा ह्युमन प्यापिलोमा भाइरसको संक्रमणले पाठेघरको क्यान्सर देखिएको हुन्छ। उनलाई पनि त्यस्तै भएको रहेछ। उपचारपछि बालिकालाई निको भयो। अहिले ती बालिका मेडिकल डाक्टर बनिसकेकी छन्।
यो घटनाबारे बताइरहँदा डा. राजेन्द्र बरालका आँखा आँसुले भरिएका थिए।