जनकपुरधाम- जनकपुर साहित्य महोत्सवमा बलिउड नायिका मनिषा कोइरालाले कला क्षेत्रलाई राज्यले महत्व दिन नसकेको आरोप लगाएकी छन्।
सिनेमाको रंग नामक सत्रमा बोल्दै नायिका कोइरालाले राज्य तथा समाजले कला क्षेत्रलाई सहयोग नगरेका कारण नेपाली फिल्म जगत आशातित प्रगति गर्न नसकेको बताइन्।
उनले कला, साहित्य तथा खेललाई सहयोग नगर्ने समाज खल्लो हुने गरेको बताइन्। विकसित देशहरुले कला, साहित्य तथा खेललाई निकै सहयोग एवम् महत्व दिने गरेको बताउँदै अभिनेत्री कोइरालाले यी विधाहरुलाई राष्ट्रले महत्व दिनुपर्नेमा जोड दिइन्।
नायिका कोइरालाले नेपालमा कलाकारहरुले प्लेटफर्म नपाएको बताइन्। उनले नेपालमा कलाकारको अभाव नरहे पनि कलाकारहरुले प्लेटफर्म पाउन नसकेको तीतो यथार्थ सबैले स्वीकार गर्नुपर्ने बताइन्।
‘मैले सानो सर्ट फिल्म स्टोरी फेस्टिवलको २/३ वर्षअघि जज गर्ने मौकाए पाएकी थिएँ। त्यसमा यस्तो राम्रो राम्रो सिनेमाहरु हेरेँ, त्यतिबेला मलाई त लाग्यो यहाँ त ट्यालेन्टको कमी रहेनछ, खाली उनीहरुले ठूलो प्लेटफार्म पाएका हुँदैनन्’, उनले भनिन्, ‘कलाकारको कमी नभएका कारण त्यसलाई ओटीटी प्लेटफर्मले ठाउँ दिँदा राम्रो हुन्छ नेपालमा।’
उनले आफन्तको पहुँचले मात्रै फिल्मलगायत कुनै पनि क्षेत्रमा स्थापित हुन नसकिने बताउँदै त्यसका लागि योग्यता, क्षमता एवम् अत्यन्तै मिहिनेत गर्नुपर्ने अनुभूति व्यक्त गरिन्।
मैथिली फिल्ममा अभिनय गर्न ईच्छुक छु : राजेश हमाल
सोही सत्रमा नेपाली चलचित्रका महानायक राजेश हमालले आफूले देशको सम्पूर्ण समूदायको प्रतिनिधित्व हुने गरी चलचित्रहरुमा अभिनय गरेको बताए।
मधेश तथा मैथिली क्षेत्रको प्रतिनित्व हुने गरी अभिनय फिल्ममा किन गर्नु भएन भन्ने प्रश्नको जवाफमा अभिनेता हमालले भने ‘म देशको पूर्वदेखि पश्चिम र हिमालदेखि तराईमधेशसम्मका सम्पूर्ण समुदायको प्रतिनिधित्व हुने अभिनय गरेको हुँ। एउटा भाषामा मात्र मैले अभिनय गरेको छु त्यो नेपाली भाषा हो।’
अभिनेता हमालले आफू मैथिली सिनेमामा पनि अभिनय गर्न इच्छुक रहेकोसमेत बताए। ‘म मैथिली फिल्मा अभिनय गर्न इच्छुक छु। सौख छ मैथिली फिल्ममा अभिनय गर्ने।’