मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली पक्षीय संसदीय दलको बैठक बस्दै, संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा केन्द्रित हुने

ओली पक्षीय संसदीय दलको बैठक बस्दै, संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा केन्द्रित हुने

नेकपाको ओली पक्षीय संसदीय दलको बैठक आज बस्दैछ।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

काठमाडौं - नेकपाको ओली पक्षीय संसदीय दलको बैठक आज बस्दैछ।

संसदीय दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे संसदीय दलको बैठक बस्न लागेको हाे।

ओली पक्षीय सांसद निरुदेवी पालले भोलिदेखि सुरु हुने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुनेलगायतका विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको जानकारी दिइन्।

ओलीले केही दिनअघि प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकका नियुक्त गरेका थिए। उनै प्रमुख सचेतकले आज बस्ने संसदीय दलको बैठकमा सहभागिताका लागि नेकपाका सबै सांसदहरूलाई खबर पठाएका छन्।

ओली पक्षले नेकपा दाहाल-नेपाल पक्षमा रहेका सांसदहरूलाई पनि खबर पठाएको छ।

यद्यपि नेकपा राजनीतिकरूपमा विभाजन भइसकेकाले आजको बैठकमा ओली पक्षीय सांसदको मात्रै सहभागिता हुनेछ। 

दाहाल-नेपाल पक्षले ओलीविरुद्ध कांग्रेसलगायतका राजनीतिक दलहरूसँग मिलेर भए पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला आजको संसदीय दलमा भोलिको बैठकमा आफ्नो उपस्थिति कसरी गर्ने भन्ने विषयमा नै ओली पक्षीय संसदीय दलको बैठक केन्द्रित हुने देखिएको छ।

शुक्रबार दाहाल-नेपाल पक्षीय संसदीय दलको बैठकले संसदीय दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरिसकेको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभा गरेर ११५ जना सांसदहरू सहभागी भएको बैठकले दाहाललाई नेता चयन गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेलगत्तै बसेको संसदीय दलको बैठकले दाहाललाई यसअघि नै नेता चयन गरेको थियो।

यद्यपि त्यो अवधिको समय शून्य समय भएकाले अहिले पुनः वैधानिकरूपमा नै बहुमत सांसदहरूको समर्थनमा संसदीय दलको नेता चयन गरिएको बताइएको छ।

संसदीय दलको बैठक सकिएलगत्तै दाहालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आइतबार भित्रमा राजीनामा नदिएमा संसदीय प्रक्रियाअन्तर्गत ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेर अघि बढ्ने जनाउ दिएका थिए।

यद्यपि दाहाल-नेपाल पक्षले आधिकारिकरूपमा निर्णय भने गरिसकेको छैन।

उसले एक्लैले अविश्वासको प्रस्ताव पेस गर्दा पारित हुन सक्ने स्थिति छैन।

त्यसका लागि नेपाली कांग्रेस र जसपाको साथ खोजिरहेको छ। तर, ती दुवै पार्टीले अहिलेसम्म कुनै निर्णय गरिसकेका छैनन्।

सम्भवतः दलहरूले भोलि प्रतिनिधिसभाको बैठक बस्नु अगाडिसम्म सहमति गर्ने बताइएको छ।

प्रकाशित: Mar 06, 2021| 03:07 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।