काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष एवम् नेकपा पार्टी एकता अभियानका संयोजक वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित निवासमा पुगेका छन्।
विप्लवलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएलगत्तै ओली गौतम निवास पुगेका हुन्। गौतमको सचिवालयले प्रधानमन्त्री ओली भेट्न आएको पुष्टि गरेको छ। गौतमसँगको भेटमा ओलीले नेता सुवास नेम्वाङ र आफ्ना सल्लाहकारसमेत सहभागी गराएका छन्।
पारिवारिक भेटवार्ताका लागि ओली गौतम निवास गएको भनिए पनि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेकपा विभाजनको संघारमा रहेको बेला गौतम पार्टी एकता अभियान घोषणा गरेर एकताका लागि पहल गरिरहेका छन्।
ओली र दाहाल नेपाल समूह एकताकै पक्षमा रहेको दाबी गर्दै आए पनि उनीहरुका गतिविधि भने एकताको पक्षमा देखिएका छैनन्।
सर्वोच्च अदालतले ससद पुनर्स्थापन गरेपछि आगामी आइतबार प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको छ। नेकपाको दाहाल नेपालले ओलीले राजीनामा नदिएमा अविश्वासको प्रस्ताव प्रक्रियाबाट हटाउने तयारी गरिरहेको छ।
शुक्रबारमात्रै दाहाल नेपाल पक्षले ओलीलाई दलको नेताबाट हटाएको घोषणा गर्दै दाहाललाई नेता चयन गरेको छ।