काठमाडौं– नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार सार्वजनिक भएका छन्।
चार वर्ष भूमिगत बनेका विप्लव सरकारसँग तीनबुँदे सहमति गर्दै खुला राजनीतिमा आएका हुन्।
विप्लव तिनै पात्र हुन्, जसले १० वर्षे सशस्त्र युद्धका बेला तत्कालीन माओवादीका सुप्रिम कमान्डर पुष्पकमल दाहालका सबैभन्दा विश्वासिला भएर काम गरेका थिए।
२०२४ फागुन ११ गते रोल्पा केवरीमा जन्मिएका नेत्रविक्रम चन्दले २०५२ मा सशस्त्र विद्रोहमा लागेपछि विप्लव उपनाम राखेका थिए।
रोल्पामै बाल्यकाल बिताएका विप्लवले लिवाङ बालकल्याण माविबाट १९ वर्षको उमेरमा एसएलसी पास गरेका थिए।
कान्छा सन्तानका रूपमा जन्मिएका उनका तीन दिदी र दुई दाजु छन्। सुभद्रा मल्लसँग विवाह गरेका उनका दुई छोरा र एक छोरी छन्।
२०५२ मा माओवादीले सशस्त्र युद्ध सुरु हुँदा उनी पार्टी निकट विद्यार्थी संगठनको उपाध्यक्ष थिए।
यसपछि उनले २०५४ मा ललितपुर पार्टी सेक्रेटरी जिम्मेवारी पाए।
२०५५ भदौमा सम्पन्न पार्टीको चौथो विस्तारित बैठकबाट माओवादी केन्द्रीय सदस्य बनेका उनी त्यसको चार वर्षपछि पोलिटब्युरो सदस्य भएका थिए।
२०६१ मा उनी रुकुम–रोल्पा आधार इलाका ब्युरो इन्चार्ज भए।
पार्टी बैठक, भेलामा खरो र स्पष्ट रूपमा उभिएर पार्टीभित्रका विसंगति विषयमा बोल्न थालेपछि दाहालबाट टाढिन थालेको उनी निकट बताउँछन्।
विप्लवले युद्ध रोकेर शान्ति प्रक्रियामा आउने नेतृत्व निर्णयप्रति विमति जनाएका थिए।
माओवादी शान्ति प्रक्रियामा आएसँगै नेतृत्वप्रति रुष्ट विप्लवका राजनीतिक उतार त्यसपछि झनै धेरै देखियो। विप्लवकै अग्रसरतामा तत्कालीन माओवादी ३ असार २०६९ मा विभाजित भएको थियो।
सोही वर्ष सम्पन्न विभाजित माओवादीको महाधिवेशनबाट मोहन वैद्य ‘किरण’ अध्यक्ष, रामबहादुर थापा ‘बादल’ महासचिव र विप्लव सचिवमा चयन भए।
नेकपा–माओवादीले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्यो। यसको मुख्य योजनाकार विप्लव नै थिए।
विप्लवले नेकपा विभाजित भएको दुई वर्षमै वैद्यको नेतृत्वमा क्रान्तिको बाँकी कार्यभार पूरा नहुने भन्दै नयाँ पार्टी गठन गरे।
नेकपा–माओवादी पनि फुटाएर उनले ८ मंसिर २०७१ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन गरे र महासचिव बने। २०७३ फागुनमा उनले पार्टीको नाम ‘नेकपा’ राखेका हुन्।
२०७३ पछि विप्लव भूमिगत थिए। एनसेलको टावरमा आक्रमण गर्दै आएको विप्लव समूहले एक जनाको ज्यान नै लियो। त्यसपछि सरकारले २०७५ फागुन २८ मा उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो।
यसबीचमा उसका दुई हजार ५३ जना नेता कार्यकर्ता पक्राउ परेका थिए भने सर्वसाधारण, प्रहरी र उसका कार्यकर्ता गरेर २१ जनाले ज्यान गुमाएका छन्।
लुटेरा र आतंककारी भन्दै विप्लव नेतृत्वको नेकपामाथि २ वर्षअघि प्रतिबन्ध लगाएका ओलीले नै अहिले उक्त समूहलाई खुला राजनीतिमा ल्याएका छन्।
चार वर्षदेखि भूमिगत विप्लव ३ बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतासहित शुक्रबार सार्वजनिक भएका छन्।
विप्लव यस्तो बेला सार्वजनिक भएका छन्, जुन बेला प्रतिनिधिसभा विघटन र पुनः स्थापना भएको छ।
ओली अन्य दलबाट बहिष्कृत हुनुका साथै कमजोर देखिएका छन्। नयाँ सरकार गठनको गृहकार्य जारी छ।
वैचारिक हिसाबले दाहालसँग मिल्ने भए पनि अहिले उनले ओलीसँग सहमति गर्नुलाई कतिपयले आश्चर्यका रूपमा हेरेका छन्।