काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक सरकारमा पार्टीको सहभागिताबारे अनिर्णित बनेको छ। शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठक सरकारमा सहभागिताबारे निर्णय नगरी टुंगिएको हो।
बैठकमा २९ जना सांसदहरुले धारणा राखेका थिए। सभापति शेरबहादुर देउवाले २३ गतेबाट सुरु हुने संसद् बैठकमा पार्टीको भूमिकाका बारेमा सुझाव दिन सांसदहरुलाई आग्रह गरेका थिए।
‘आजको बैठकमा २९ जना सांसदले बोल्नुभयो। उहाँहरुको सुझावलाई संसदीय दलले गम्भीरतापूर्वक लिएको छ। उहाँहरुको सुझाव सल्लाह अनुसार नै पार्टीले उचित समयमा उचित निर्णय लिनेछ,’ बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘अबको परिस्थिति संसद् सुरु भएपछि राजीतिक दलका साथीहरुले खासगरी सत्ता पक्षका नेकपाका साथीहरु कसरी अघि बढ्नुहन्छ। त्यसमा निर्भर हुन्छ। हामी त्यसलाई गम्भीरतापूर्वक लिएर, उचित समय लिएर निर्णय लिन्छौं।’
नेता खाँडले अहिले नै कांग्रेसले अविश्वासको प्रस्तावका बारेमा कुनै निर्णय नलिने बताए। ‘यस विषयमा अहिले नै केही भएको छैन। हामी संसदलाई नियमित रुपमा सञ्चालन गर्न, राजनीतिक निकास दिन, संसदीय अभ्यासलाई सुदृढ गर्न उचित निर्णय लिनेछौं,’ उनले भने।
बैठकमा बोल्ने अधिकांश सदस्यहरुले नेकपाको नेकपाको ओली समूहसँग मिल्न नहुने धारणा सांसदहरुले राखेका थिए। प्रधामन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर संविधानमाथि प्रहार गरेकाले त्यही पक्षसँग कांग्रेस मिल्न नहुने बताएका थिए।