पोखरा- प्रभु बैंक लिमिटेडले पोखराको तालबाराही मन्दिरमा क्युआर कोड व्यवस्था गरेको छ।
तालबाराही मन्दिर व्यवस्थापन समिति र बैंकको सक्रियतामा शुक्रबारदेखि क्युआर कोड सञ्चालनमा आएको हो। क्युआर कोडमार्फत् चढाएको भेटी अब सिधै मन्दिरको बैंक खातामा जानेछ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल, प्रादेशिक कार्यालय पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, प्रभु बैंक लिमिटेड गण्डकी प्रादेशिक प्रमुख वीरेन्द्र भट्टलगायतले तालबाराही मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष प्रशुराम पहारीलाई क्युआर कोड प्रदान गरे।
क्युआर कोड प्रदान गर्दै नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले नगद कारोबार गर्नुभन्दा विद्युतीय कारोबार सुरक्षित रहेको बताए। उनले नगद कारोबार गर्दा रोग सर्न सक्छ भने कोरोनाका बेला पुष्टि भएको बताए।
क्युआर कोडबाट भुक्तानी गर्दा छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने र कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने प्रभु बैंकका प्रमुख व्यापार अधिकृत प्रमुख शान्ति शेरचनले बताइन्। बैंकले हाल २१३ शाखा, ५८ एक्सटेन्सन काउन्टर र करिब १६ लाख ग्राहकलाई सेवा दिदै आएको उनले बताइन्।
यो सुविधासँगै मन्दिरमा भक्तजनहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत् सजिलै दान गर्नसक्ने प्रभु बैंक बिरौटा शाखा प्रबन्धक सन्तोष भण्डारीले बताए। उनले नगद कारोवारलाई डिजिटल प्रणालीमा लैजाने नेपाल राष्ट्र बैंकको नीतिअनुसार नै सेवाको सुरुआत गरिएको बताए।