बुटवल– विकल्प नदिई आफूहरुलाई विस्थापित गरेर सरकारले ‘मोतीपुर औद्योगिक क्षेत्र’ निर्माण गर्न लागेको भन्दै स्थानीयले शिलान्यासमा अवरोध गर्ने चेतावनी दिँदै आएका थिए। यही फागुन १३ गते शिलान्यसका लागि तय भएको कार्यक्रम अदालतले संसद् विघटन बदर गरेपछि स्थगित भएको थियो।
अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेल हिजो बिहीबार रुपन्देही आएलगत्तै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शिलान्यास कार्यक्रमको तयारी गरेको थियो। हिजो नै लिमिटेडले अर्थमन्त्रीबाट शिलान्यास गर्न मञ्च बनाएको थियो। तर, स्थानीयले मञ्च नै तोडफोड गरिदिए। स्थानीयले निरन्तर विरोध गर्दै शिलान्यास रोक्ने चेतावनी दिँदै आफूहरुका माग सम्बोधन गर्न आग्रह गरेका थिए।
तर, सुरक्षाकर्मी तैनाथ गरेर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शिलान्यास गर्न लाग्यो। शुक्रबार मध्यान्ह साढे १२ बजे शिलान्यासको कार्यक्रम तय गरियो। लिमिटेडले आफूहरुको विकल्पबारे बेवास्ता गर्दै औद्योगिक क्षेत्र शिलान्यास गर्न लागेको भन्दै बिहानैदेखि कार्यक्रमस्थलमा नाराबाजी सुरु भएको थियो। चारैतिर सुरक्षाकर्मी तैनाथ गरेर तोकिएकै समयमा अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट कार्यक्रमस्थलमा छिरे।
त्यसलगत्तै आक्रोशित स्थानीयको भिड अनियन्त्रित हुन थाल्यो। स्थानीयले अर्थमन्त्रीलाई लक्षित गरी ढुंगा प्रहार गरे। प्रहरीले स्थानीयमाथि लाठी बर्सायो। केही स्थानीय घाइते भएका छन्। एक जना प्रहरीसमेत घाइते भए।
औद्योगिक क्षेत्र निर्माण स्थल तनावपूर्ण बन्दै थियो। अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भट्ट भने त्यसको बेवास्ता गर्दै शिलान्यासका लागि पूजामा व्यस्त भए। करिब २० मिनेटमा पूजा सकेर औद्योगिक क्षेत्रको औपचारिक रुपमा शिलान्यास भयो। भीड पनि अनियन्त्रित र आक्रोशित हुँदै थियो।
मञ्चमा आसनग्रहण सुरु भयो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले स्थानीयवासीलाई विरोध नगर्न आग्रह गर्दै विदेशी उद्योगीलाई स्वागत गर्न आतुर रहेको बताए। यतिञ्जेलसम्म स्थानीयको आक्रोश थप चुलिँदै थियो। त्यसै क्रममा जंगल वरपर जम्मा गरिएको खरमा स्थानीयले आगो लगाइदिए। प्रहरीले केहीलाई लाठी बर्सायो।
केहीलाई नियन्त्रणमा लियो। संयम नै देखिएको प्रहरीले स्थानीयलाई मञ्च प्रवेशमा रोक्दै थियो। यही बीचमा उद्योगमन्त्री लेखराज भट्ट बोल्न थाले। उनले कालो झन्डा देखाउने नागरिकहरुलाई विकास विरोधीको संज्ञा दिए। उनले सुदूरपश्चिममा यस्ता विकासलाई जनताले फूलमालाले स्वागत गर्ने सुनाए।
बाहिर प्रहरी र स्थानीयबीच झडप चलिरहेकै थियो। यही बीचमा अर्थमन्त्री विष्णु पौडेलको बोल्ने पालो आयो। अर्थमन्त्री पौडेल जब मञ्चमा बोल्न थाले, स्थिति तनावपूर्ण बन्यो। मञ्चलाई लक्षित गरी ढुंगा प्रहार हुन थाल्यो। अर्थमन्त्री भने संयमित हुन आग्रह गर्दै थिए।
एकैछिनमा बिजलुीको लाइन काटियो। त्यसपछि अर्थमन्त्रीको सुरक्षामा खटिएका नेकपा ओली समर्थित युवाहरुले पनि कार्यक्रमस्थलबाटै ढुंगा हान्न थाले । स्थिति तनावपूर्ण बनेपछि अर्थमन्त्री पौडेल बाहिरिए।
४ हजार स्थानीय प्रभावित
८ सय १३ बिघा क्षेत्रफलमा बन्न लागेको औद्योगिक क्षेत्र पूर्वाधार विकासका लागि १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। औद्योगिक क्षेत्रका नाममा ८ सय १४ बिघाको लालपूर्जा छ। त्यो लालपूर्जाभित्र नै स्थानीयको जग्गा परेकाले आफूहरुलाई विस्थापित नगर्न सरकारसँग माग गरेको स्थानीय बाबुराम घिमिरेले बताए। प्रभावितको मागलाई सरकारले सुनुवाइ नै नगरेकाले आफूहरु विरोधमा उत्रनुपरेको उनको भनाइ छ।
‘घरबास उठिबास लगाउन खोजियो, त्यसैले विरोधमा उत्रेको हो,’ प्रभावित स्थानीय गंगा भण्डारीले भनिन्। उनले १० कठ्ठा जमिन सबै सरकारले हडपेपछि आफूहरुको विचल्ली हुने बताइन्।
८ सय १३ बिघा जग्गालाई चार क्षेत्रमा विभाजन गरिएको छ। तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र शुद्धोधन गाउँपालिकाको जग्गालाई एकीकृत गरेर औद्योगिक क्षेत्र निर्माण गरिएको हो। तिलोत्तमा क्षेत्रलाई सेक्टर ए मानिएको छ। १ सय ५४ बिघा क्षेत्रफल रहेको तिलोत्तमामा १ सय ३० प्लट रहने छन्। मोतीपुर क्षेत्रलाई बी सेक्टरमा राखिएको छ ।
४ सय ५ बिघा क्षेत्रफल रहेको मोतीपुरमा २ सय ६२ प्लट रहनेछन्। मोतीपुर क्षेत्रमा १ सय ४३ बिघा जग्गा बस्तीका लागि समायोजन गर्नुपर्ने छ। यसैगरी फर्साटिकर क्षेत्रलाई ‘सेक्टर सी’ मा राखिएको छ। फर्साटिकर क्षेत्रमा २ सय २५ बिघा क्षेत्रफल छ। जसमा १ सय ५२ प्लट रहने छन्। यो सेक्टरमा पनि ६० बिघा जग्गा बस्ती विकासका लागि राखिएको छ। यसैगरी दक्षिणपट्टिको भागलार्ई डी सेक्टरको रुपमा राखिएको छ।
पर्दा पछाडिबाट उचाल्ने काम भयो : पौडेल
विरोधका बीच शिलान्यास गरेर बोल्दाबोल्दै हिँडेका अर्थमन्त्री पौडेलले बुटवलमा पत्रकार सम्मेलन गरी औद्योगिक क्षेत्रको शिलान्यासलाई पर्दा पछाडिबाट भड्काउन खोजिएको आरोप लगाए।
उनले जनतालाई भ्रममा पारेर विकास रोक्न खोजिएको भन्दै पर्दा पछाडि बस्नेहरुलाई खुलेर आउन चुनौती दिए। ‘औद्योगिक क्षेत्रको शिलान्यास सफलतापूर्वक भयो। भूमिहीनको समस्या सम्बोधन हुन्छ, तर अब औद्योगिक क्षेत्र रोकिँदैन।’
पत्रकार सम्मेलनमा उद्योगमत्री लेखराज भट्टले सरकारले सातवटै प्रदेशमा औद्योगिक क्षेत्रको शिलान्यास गरेको बताउँदै बुटवलको घटना विकास विरोधी कदम भएको बताए।