प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग रातारात सहमति नभएको बताएका छन्।
उक्त समूहसँग औपचारिक रुपमा सहमतिपत्र हस्ताक्षर गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘रातारात होइन, वर्षौंदेखि वार्ता चलिरहेको थियो। नगरा बजाएर वार्ता गरेनौं। वार्ता वार्ताझै गर्यौं। गम्भीरताका साथ गर्यौं।’
सबै कुरा छलफलकै माध्यमबाट टुंग्याउन सकिने र कुस्ती खेल्नु नपर्ने उनले टिप्पणी गरे। ‘शान्तिपूर्ण बाटोबाट उहाँहरुले आफ्ना विचार कार्यान्वयन गर्नुहुनेछ ।नेकपा भन्ने उहाँहरुको पार्टी छ। गतिविधि शान्तिपूर्ण ढंगले गर्छ। शान्तिपूर्ण ढंगले गर्ने भइसकेपछि उहाँहरुका नेता कार्यकर्ता प्रक्रिया पूरा गरेर छोड्ने काम अघि बढाउँछौं,’ उनले भने।
गत वर्ष पृथकतावादी आन्दोलान गरिरहेका सिके राउतलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको स्मरण गर्दै उनले त्यही मूलधारमा आज विप्लव आएको बताए।
‘जनताले चाहेको शान्तिपूर्ण समाज हो, सुशासन हो, भ्रष्टाचारको अन्त्य हो। विकासका कुरा योजनावद्ध ढंगले अघि बढुन् भन्ने जनताले चाहेका छन्। हामीले चाहेको समृद्ध नेपाल सुखी नेपाली हो। यो बनाउन शान्तिपूर्ण वातावरण चाहिन्छ। लोकतान्त्रिक प्रणाली चाहिन्छ,’ उनले भने।
यिनै चिज प्राप्त गर्ने सन्दर्भमा आज एउटा ऐतिहासिक काम भएको उनले बताए। ‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। नेपालमा हिंसात्मक द्वन्द छैन अब। नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ,’ उनले भने। विप्लव समूहको फोर्स ल्यान्डिङ होइन नभएर सेफ ल्यान्डिङ भएको उनले बताए।