सुर्खेत- सल्यानको सिद्धकुमाख गाउँपालिकाले लोकसेवा र शिक्षक सेवाका तयारी कक्षा सुरु गरेको छ।
आज (शुक्रवार) देखि सुरु गरेका निःशुल्क तयारी कक्षामा लोकसेवातर्फ ३१ जना र शिक्षक सेवातर्फ १८ जना विद्यार्थी सहभागी छन्।
गाउँपालिकाभित्र स्थायी बसोबास भएका विद्यार्थीलाई मात्रै तयारी कक्षा सहभागी गराइएको छ।
आयोगको पाठ्यक्रमअनुसार लोकसेवातर्फ खरिदार तथा नायव सुब्वा र शिक्षक सेवातर्फ प्रावि र मावि प्रथम पत्रको तयारी कक्षा सुरु गरेको गाउँपालिकाका कार्यकारी अधिकृत मार्शलकुमार वलीले जानकारी दिए।
तयारी कक्षामा विज्ञहरुले प्रशिक्षण दिने छन्। विज्ञहरुको पारिश्रमिकको लागि गाउँपालिकाले ३ लाख रुपैयाँ छुट्याएको छ।तयारी कक्षाले योग्यता पुगेका विद्यार्थीलाई लोकसेवाप्रति आकर्षण बढाउने, परीक्षामा सफल हुन महत्वपूर्ण सहयोग मिल्ने र रोजगारीका लागि विदेश पलायन हुने युवाहरु गाउँमै रोकिने अपेक्षा गरिएको छ।
‘विदेश पलायन हुने युवाहरुलाई रोक्न र गाउँपालिकाबाट निजामति सेवामा सहभागी संख्या बढाउन आयोगको तयारी कक्षा सुरु गरेका छौँ’, उनले भने, ‘आयोगको पाठ्यक्रम पुरा नहुँदासम्म पढाइ हुनेछ।’
स्थायी शिक्षक र निजामति सेवामा प्रवेश गर्न चाहने तर अध्ययनका लागि सहर जान नपाएका विद्यार्थीका लागि राहत मिल्ने उनको तर्क छ। गाउँपालिकाले सुरु गरेको निःशुल्क तयारी कक्षा खैरावाङ प्राविधिक शिक्षालयको समन्वयमा निराजन माद्यामिक विद्यालय ढोरचौरमा पढनपाठन सुरु भएको छ।
लोकसेवा तयारी कक्षामा सहभागी हुन निराजन माद्यामिक विद्यालयमा पुगेका विद्यार्थीहरु।