काठमाडौं– सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।
हिजो बिहीबार उक्त समूहसँग तीन बुँदे सहमति भएपछि आज औपचारिक रुपमा हस्ताक्षर भएको हो।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको तर्फबाट खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
सरकारले प्रतिबन्ध लगाएको दुई वर्षपछि विप्लव समूहसँग सहमति भएको हो।
सहमतिमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक समस्याहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएका नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीका विषय छन्।