भैरहवा- अर्थमन्त्री विष्णुप्रसाद पौडेल चढेको गाडीमा ढुंगामुढा प्रहार भएको छ। मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न भैरहवा पुगेका पौडेलको गाडीमा स्थानीयले ढुंगामुढा प्रहार गरेका हुन्।
स्थानीयले आफूहरुको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै विरोध गरेका थिए। ठूलो संख्यामा आएका स्थानीयले शिलान्याश कार्यक्रम विथोल्न खोजे पनि प्रहरीले बल प्रयोग गरेर शिलान्याशको कार्यक्रम सम्पन्न गराएको छ।
शिलान्याशका लागि अर्थमन्त्री पौडेलसँगै उद्योगमन्त्री लेखराज भट्ट पनि पुगेका छन्।
स्थानीयहरुले अर्थमन्त्री पौडेलले मन्त्री पदका लागि राजधानी साटेको र अहिले आफूहरुको जग्गा हडपेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
यसअघि औद्योगिक क्षेत्रको डीपीआर तयार गर्दा स्थानीयको माग सम्बोधन गरिने बताइएको भए पनि शिलान्याश गर्ने बेलासम्म पनि कुनै किसिमको माग सम्बोधन नभएको उनीहरुको गुनासो छ।
विगत ५ दशकभन्दा बढी समयदेखि बसोबास गर्दै आएका ३ हजारभन्दा बढी परिवारको घरबास उठ्ने अवस्था आएकोप्रति गम्भिर हुन आग्रह गर्दै तत्काल औद्योगिक क्षेत्र पीडितहरुको माग पुरा नभए संघर्षमा उत्रने र शिलान्याश कार्यक्रम अवरोध गर्ने उनीहरुले चेतावनी दिदै आएका थिए।
केही समययता देशव्यापी रुपमा शिलान्याशको अभियान सञ्चालन गरेका अर्थमन्त्री पौडेलले गत फागुन १३ गते मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम थियो। तर स्थानीयको विरोधपछि स्थगित भएको थियो। आजका लागि शिलान्यास कार्यक्रम राखिएपछि स्थानीयले हिजो मञ्च भत्काएका थिए।
मोतीपुर औद्योगिक क्षेत्रको कुल क्षेत्रफल झण्डै १ हजार बिगा रहेको भए पनि हाल पहिलो चरण अन्तर्गत २४५ विगाहा क्षेत्रमा मात्र निर्माण गरिने संरचनाको शिलान्याश गर्न लागिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।






