काठमाडौं– सरकारले दोस्रो चरणमा लगाइने कोरोना खोपको प्राथमिता परिवर्तन गरेको छ। यही २३ फागुनदेखि कोरोनाविरुद्धको खोपको दोस्रो खोप अभियान सुरू हुँदैछ।
परिवर्तित प्राथमिकता अनुसार दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।
यसअघि सरकारले ५५ वर्षमाथिकालाई खोप दिने योजना बनाएको थियो। तर तोकिएको समयमा सम्झौता अनुसारको खोप नआएपछि संशोधन गरी ६५ वर्ष बनाइएकोस्वास्थ्य मन्त्रालयले जनाएको छ।
सरकारले दुई साताभित्र २० लाख डोज कोभिसिल्ड ल्याउने गरी सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो।
सम्झौताअनुसार १० लाख डोज आइसकेको छ भने दोस्रो डोज आइपुगेको छैन। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार सिरमले सम्झौताअनुसार अस्ति बुधबारसम्ममा १० लाख डोज भ्याक्सिन पठाउनु पर्ने थियो। तर, आज शुक्रबारसम्म पनि आइपुगेको छैन।