स्याङ्जा– कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले सरकारबाट बाहिरिनुपरे त्यसलाई सहज रुपमा स्वीकार गर्ने बताएकी छन्। उनले पनि सत्तामा बस्न पाइएन भनेर सडकमा गएर आन्दोलन नगर्ने बताइन्।
स्याङ्जास्थित बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगीता उद्घाटन गर्दै यस्तो बताएकी हुन्।
उनले केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने भए विधि, प्रक्रियामार्फत आउन आग्रह गरिन्।
‘हामी सम्मानित संसद्बाट सरकार फेर्दा खुसी नै हुन्छौं। हामी जनताका मान्छे हौं, जनताको बीचमा आउँदा खुसी नै हुन्छौं’, मन्त्री अर्यालले भनिन्, ‘तर संसद आह्वान भएको छ। प्रधानमन्त्री हटाउँछौं भन्नेहरुले विधिसम्मत ढंगले फाल्नुपर्छ। प्रधानमन्त्री हटाएमा हामी बर्बादै भयो भनेर सडकमा आउने वाला छैनौं।’
सरकारले इतिहासमा छुटाइएको लिम्पियाधुरासम्मको भूमितसमेटेर नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमाथि हमला भएको उनको भनाइ छ।