काठमाडौं - प्रहरीले काठमाडौंको ताहाचलस्थित प्लाटिनम होटलमा रहेको क्यासिनो सीएमजीमा छापा मारेको छ।
अवैधरूपमा क्यासिनो खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले छापा मारेको हो।
प्रहरीले त्यहाँबाट जुवा खेलिरहेको अवस्थामा खेल्ने र खेलाउनेसहित १० जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा क्यासिनो खेल्ने भारत विहार मोतीहार घर भएका ३८ वर्षीय रञ्जितकुमार जैसवाल, ३५ वर्षीय सोहन प्रसाद, विहार बेतियाका ४२ वर्षीय मुमताज मिँया, कलकत्ता मेडनापुरका ५० वर्षीय शेख मुर्तुजा अलि, धनुषाका ३२ वर्षीय राजकुमार सिंह र बाराका ३७ वर्षीय टिन्कु प्रसाद छन्।
त्यस्तै पक्राउ पर्नेमा क्यासिनो खेलाउने होटलका कर्मचारीहरू म्यानेजर काठमाडौंका ६२ वर्षीय महेश मल्ल, सर्लाहीका ५२ वर्षीय कमलदेव चौधरी, सर्लाहीकै २३ वर्षीय अजय यादव र सर्लाहीकै ४१ वर्षीय सचिन वाग्ले छन्।
प्रहरीले उनीहरूको साथबाट नगद आठ लाख २६ हजार ९८०, क्यासिनो क्वाइन ३९० वटाको पाँच लाख ७० हजार, ९ लाखका तीन थान चेक बरामद गरेको हो।
उनीहरूलाई कालीमाटी वृत्तको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।