काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्दले आज एउटै समारोहमा सम्बोधन गर्दैछन्।
सरकार र चन्द समूहबीच बिहीबार भएको वार्तापछि यस्तो सहमति भएको हो।
उनीहरूबीच भएको तीन बुँदे सहमति सार्वजनिक भए पनि विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
सहमतिको विस्तृत विवरण आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने समारोहमा सार्वजनिक गरिने छ।
सरकार र चन्द नेतृत्वको नेकपाबीच बुधबार दुई चरणमा र बिहीबार एक चरणमा वार्ता भएको थियो।
सहमतिमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएका नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीका विषय छन्।
विभिन्न हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले गत वर्ष फागुन २८ गते चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो।