काठमाडौं – इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा पाहुना टिम चेल्सीले लिभरपुललाई एनफिल्ड रंगशालामा हराएको छ।
यो खेलसँगै लिभरपुलले जारी सिजनमा घरेलु मैदानमा पाँच पटक हा¥यो। १–० गोलको पराजयपछि लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनले अहिलेको नतिजाका लागि विगतमा भर नपर्ने बताएका हुन्।
गएराति डिफेन्डिङ च्याम्पियन लिभरपुल शीर्ष चारको प्रतिस्पर्धाका लागि चेल्सीसँग प्रतिस्पर्धा गर्दै थियोे।
तर, पहिलो हाफ सकिनुभन्दा तीन मिनेटअघि मेसन माउन्टले गोल गरेपछि लिभरपुलको आशा तुहियो। त्यही गोलबाट प्रशिक्षक थोमस टुचेल चेल्सीमा अहिलेसम्म अनविटन छन्।
यस जितले चेल्सीलाई चौथोस्थानमा पु¥यायो भने लिभरपुल अहिले सातौं स्थानमा छ। अब लिभरपुलले च्याम्पियन्स लिगका लागि सिरियस डगफाइट गर्नुपर्ने छ।
लिभरपुल जसले गएको सिजन १८ अंक अघि रहेर लिग जितेको थियो र ६८ खेलसम्म घेरेलु मैदानमा अपराजित यात्रा गरेको थियो। तर, गत जनवरीमा बर्नलीसँग बेहोरेको हारसँगै ऊ एनफिल्डमा पराजयको सिकार भइरहेको छ।
‘गएको सिजन त सकिइसक्यो।,’ लिभरपुलका खेलाडी एन्डी रोबर्टसनले भने, ‘हामी राम्रो त छौं तर अहिले हामीले अंक गुमाउन पुगिरहेका छौं, त्यो चाहिँ नराम्रो हो।’
‘खेलमा हामीले प्रतिस्पर्धीलाई दबाब बनाउने हो। मानिसहरु सोच्छन् कि हामीले रिजल्ट निकाल्न सकिरहेका छैनौँ। यो गर्न सकिरहेका छैनौ पनि,’ उनले थपे, ‘हामी विगतको नजितामा त भर पर्न सक्दैनौ नि।’
गएरातिको खेलमा एनगोलो कान्टेको पासमा माउन्टले उत्कृष्ट गोल गरे। साथै फरवार्ड टिमो वेर्नरले गरेको गोल अफसाइड भएपछि उनको इफोर्ट व्यर्थ भएको थियो।
यता लिभरपुलका रोबर्टो फर्मिनोले प्रहार गरेको बल चेल्सीका डिफन्डर कान्टेको हातमा लागे पनि भीएआरको सहायता लिँदै रेफ्रिले पेनाल्टी दिन अस्वीकार गरे।
यसकारण अहिले लिगमा लिभरपुलभन्दा चेल्सी तीन अंकले अघि छ।
‘तपाईले खेल देखिहाल्नुभयो, यो निकै कठिन र दबाबपूर्ण थियो,’ खेलपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भने, ‘हामीले उनीहरूलाई दबाब दियौँ। उनीहरूले हामीलाई। उनीहरूले एक प्रहार उपयोग गर्न सके हामीले सकेनौँ।’
यता विजेता प्रशिक्षक थोमस टुचेलले एनफिल्डको पहिलो यात्रा नै स्वादिलो बनेको बताएका छन्। ‘म खेलाडीको प्रदर्शनबाट धेरै खुसी छु। हामीले चाहेको पायौँ। हामी बल पाएको बेलामा पनि लय गुमाउँदैनौ भन्ने प्रमाणित भएको छ,’ उनले भने।