काठमाडौं- सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति र प्रतिवन्ध फुकुवासँगै देशभरका हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्ता रिहाइको प्रक्रिया सुरु भएको छ।
विप्लव समूहका कार्यकर्ता रिहाइका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र देशैभरका प्रहरी कार्यालयमा पत्राचार गरेको गृह मन्त्रालयका प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले जानकारी दिए।
प्रवक्ता बुढाका अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा रहेका बन्दीहरुलाई भोलिसम्ममा छोड्न निर्देशन दिइएको छ। अदालतमा रहेका मुद्दाका आरोपीको हकमा भने मन्त्रालयले सहजीकरण गर्ने भएको छ। ‘अदालतमा रहेका केशका लागि आवश्यक सहजीकरण गर्नु भनिएको छ।’ प्रवक्ता बुढाले नेपाल समयसँग भने।
पक्राउ परेका हेमन्त प्रकाश ओली, धर्मेन्द्र बास्तोला, माइला लामालगायतका नेताहरुलगायत सबै नेता कार्यकर्तालाई छोड्ने प्रक्रिया सुरु गर्नु भन्ने निर्देशन दिइएको उनले बताए।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ भने वार्ता टोलीबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको छ।