विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लोचनीमा दुर्घटनामा परेर मृत्यु भएका एक युवाको शव ‘सुटुक्क’ लैजान खोजिएपछि बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटना गराउने र मृत्यु हुने काका–भतिज हुन्। काकाले चलाएको मोटरसाइकल दुर्घटना हुँदा भतिजको ज्यान गएपछि कारबाही नहोस् भनेर पारिवारिक सल्लाहमै अन्त्येष्टिका लागि शव लैजान खोजेको पाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।
सुन्दरहरैँचा–३ त्रिजुगाका ३१ वर्षीय देवकुमार चौधरी भतिज अजितलाई लिएर बुधबार राति विराटनगर आउँदै गरेका बेला दुर्घटना भएको थियो। भित्री सडकखण्ड भएर विराटनगर आउने क्रममा लोचनी आइपुगेपछि बुधबार राति ९ बजेतिर प्र१–०२–०४२ प ६३९२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।
दुर्घटनामा परेर मृत्यु भएका सुन्दरहरैँचा–१ त्रिजुगाका २० वर्षीय अजित चौधरीको शव परिवारका सदस्य र आफन्तले उठाएर दाहसंस्कारका लागि लैजान खोजेका थिए। दुर्घटनाका बारेमा जानकारी नदिई लैजाने प्रयास भइरहेका बेला प्रहरीले घटनाका बारेमा जानकारी पाएर शव नियन्त्रणमा लिएको हो।
दुर्घटनामा अजित सामान्य घाइते भए। तत्काल उपचारका लागि देवकुमारले नै सुन्दरहरैँचाको गछियास्थित २४ घण्टे नामक क्लिनिक पुर्याए। अवस्था गम्भीर बन्दै गएपछि पारिवारका सदस्यले थप उपचारका लागि बिहीबार बिहान २ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याएको पाइएको छ।
उपचारकै क्रममा बिहान ५ बजेतिर अजितको मृत्यु भयो। तर कुनै पनि जानकारी नदिई शव दाहसंस्कारका लागि लैजान खोज्दै गर्दा प्रहरीले रोकेको एसपी खड्काको भनाइ छ। शव नियन्त्रणमा लिँदै मोटरसाइकल चालकलाई पक्राउ गरेर घटनाका बारेमा कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको जानकारी उनले दिए। उनका अनुसार घटना बाहिर नल्याई लुकाउन खोजिएको पाइएको छ।
प्रहरीले कोसी अस्पतालमा लगेर बिहीबार पोस्टमार्टम गरेपछि मात्रै शव अन्त्येष्टिका लागि परिवारका सदस्यको जिम्मा लगायो। चालकविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन बिहीबार म्याद थप गर्दै घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
मृतकका आफन्तले घटनाका बारेमा प्रहरीलाई जानकारी दिन आवश्यक नठानिएको बताए। कुनै लापरबाही गरेर वा जानीजानी घटना नगराएका कारण हामीले प्रहरीलाई जानकारी दिन आवश्यक नठानेएको एक आफन्तले बताए।