काठमाडौं‐ यही फागुन १६ गते एक बैंकरलाई सञ्चालकले नाफा घटेको म्यासेज पठाए। बैंकरले लामो सास फेर्दै जवाफ फर्काए– नाफा तत्काल बढाउने बाटो भनेको सेयर बजार नै हो। त्यसैमा थप लगानी बढाउनुपर्ने भो।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थादेखि बिमा कम्पनीहरुले पनि नाफा बढाउनका लागि सेयर बजारमा लगानी गर्न थालेका छन्। छोटो समयमा राम्रो प्रतिफल आउने भएकाले उनीहरुको लगाव यता बढेको हो।
सञ्चालकहरुले नाफा कमाउनुपर्ने दबाब दिन थालेपछि ठूलो रकम पुँजी बजारमा खन्याएको एक बैंकरले सुनाए। उनका अनुसार पछिल्लो समय तरलता बढ्दा र कर्जा प्रवाहमा कमी आउँदा सेयर बजारमा लगानी गर्नका लागि धेरै बैंकहरु अगाडि सरेका छन्।
हाल चारवटा वाणिज्य बैंकले खुलेरै सेयर बजारको कारोबार गरिरहेका छन्। नबिल, सानिमा, एनआईसी एशिया र एनएमबी बैंकले सेयर बजारमा आफैं उपस्थिति जनाएर लगानी गरिरहेका छन्। अन्य बैंकले भने मार्जिन लेन्डिङमार्फत् पुँजी बजारमा उपस्थिति जनाएका छन्।
सेयर बजारमा लगानी गर्नेमा बिमा कम्पनी पनि पछाडि छैनन्। एक बिमा कम्पनीका सीईओका अनुसार बिमा कम्पनीहरुले कमाएको नाफामध्ये करिब ८० प्रतिशत सेयर बजारबाट आएको हो। नयाँ क्षेत्रमा लगानी गर्न नसक्दा तथा अन्य व्यवसाय ठप्प हुँदा बिमा कम्पनीहरुले नाफाका लागि सेयरमा लगानी गरिरहेको ती सीईओको भनाइ छ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो पुँजीको ४० प्रतिशतसम्म सेयरमा लगानी गर्न सक्छन्। यति परिमाणको सेयर बजारमा लगानी गर्दा उत्पन्न हुने जोखिम बहन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरु सक्षम रहेको राष्ट्र बैंकको आकलन छ।
बिमा कम्पनीको हकमा टेक्निकल रिजर्भ (लगानीयोग्य रकमको योगफल) को २० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था छ। सोही व्यवस्थामा टेकेर सेयर बजारमा लगानी गरेको बिमा कम्पनीहरुको भनाइ छ।
केही सातायता सेयर बजारमा निकै उतारचढाव आइरहेको छ। र, कतिपयले यसको दोष संस्थागत लगानीकर्तालाई लगाउने गरेका छन्। तर, सेयर बजार विश्लेषक अम्बिकाप्रसाद शर्मा यसमा सहमत छैनन्।
उनी भन्छन्, ‘बैंक तथा बिमा कम्पनीहरुले सेयरमा लगानी गर्दा टेक्निकल एनलाइसिस गरेका हुन्छन्। अर्कोतर्फ उनीहरुसँग सेयर बजारसम्बन्धी राम्रो ज्ञान हुने भएकाले सेयर कारोबार गर्दा एक तहको बुझाइका साथ किन्ने गरेका हुन्छन्। त्यसैले बजारमा उनीहरुले खेलेका कारण यो अवस्था आएको हो भन्न म सक्दिन।’
तर अर्का विश्लेषक छोटेलाल रौनियार भने संस्थागत लगानीकर्ताहरुले ठूलो मात्रामा सेयर किनबेच गर्दा बजारमा ह्वात्तै सकारात्मक वा नकारात्मक असर पर्ने भएकाले साना तथा नयाँ लगानीकर्ता आत्तिने वा हौसिने र त्यसले गर्दा बजार छिटो उकालो र ओरालो लाग्ने दाबी गर्छन्।
सेयर लगानीकर्ता संघका अध्यक्षसमेत रहेका रौनियारले संस्थागत लगानीकर्ताहरुले बढेको समयमा नाफा बुक गर्दा बजार ह्वात्तै घटेको बताए। उनका अनुसार संस्थागत लगानीकर्ता (बैंक, बिमा, नागरिक लगानी कोष, मर्चेन्ट बैंकर आदि) लाई कतिबेला कुन कम्पनीको सेयर किन्दा फाइदा हुन्छ र कतिबेला घाटा हुन्छ भन्ने जानकारी हुन्छ। त्यसैले उनीहरुले नाफा बुक गर्दा बजार ह्वात्तै ओरालो लाग्ने र थप लगानी बढाउँदा बजार उकालो लाग्ने देखिएको हो।
यही फागुन ९ गते २६४० अंकमा पुगेको सेयर बजार १० दिनमा नै २२४ अंकले घटेर हिजो बुधबार २४१६ अंकमा अडियो। फागुनको दोस्रो साताबाट घट्न सुरु भएको नेप्सेमा एक हप्तामा नै ठूलो अंकको गिरावट आएको छ। गएको सोमबार ४० अंकले उकालो लागेको नेप्से मंगलबार र बुधबार झन्डै ९० अंकले ओरालो लाग्यो। आज बिहीबार सवा २ बजेसम्ममा झन्डै ८० अंकले उकालो लागेको छ।
गत असोज अन्तिम साता विष्णु पौडेल अर्थमन्त्री भएपछि लगातार उकालो लागेको नेप्से २६८५ अंकसम्म पुगेको थियो। तर पछिल्लो हप्ता नेप्सेले ओरालो यात्रा तय गर्न लागेको छ। ‘पछिल्लो समय पुँजीबजारमा अनलाइन कारोबार गर्नेहरुको संख्या बढेको छ।
लहलहैमा लागेर सेयर कारोबार गर्न तम्सिएका नयाँ लगानीकर्तासँग धैर्यको अभाव भएका कारण सेयर बजार बढ्दा बढिरहने र घट्न थालेपछि घटिरहने प्रवृत्ति देखिएको बजार विश्लेषक शर्मा बताउँछन्।
उनका अनुसार बजारमा नयाँ प्रवेश गरेका लगानीकर्तासँग सेयर बजार सम्बन्धी ज्ञानको अभाव छ। उनीहरुले हल्लाको भरमा लगानी गर्ने हुँदा बजार बढ्न थाल्दा हौसिएर किन्ने र घट्न थाल्दा अधैर्य भएर बेच्ने प्रवृत्तिका कारण बजारमा उतारचढाव आइरहेको हो।
अर्का विश्लेषक रौनियार भने बजारमा नकारात्मक हल्ला फैलिएका कारण बजार ओरालो लाग्न थालेको बताउँछन्। भन्छन्, ‘अहिले बजारमा फैलिएको नकारात्मक हल्लामा कुनै सत्यता छैन तर पनि लगानीकर्ताहरु सोही हल्लाको पछाडि लागेर सेयर बेचिरहेका छन्।’
उनले थपे, ‘बजारमा ब्याजदर बढ्ने हुने हल्ला छ, जुन पूरै गलत हो। अहिले वाणिज्य बैंकसँग मात्र ७३ अर्ब रुपैयाँको हाराहारीमा तरलता छ। फेरि सरकारले पनि खर्च बढाउँदै लगेको छ। त्यो रकम बजारमा नै आउने हुँदा बैंक तथा वित्तीय संस्थाहरुसँग पर्याप्त तरलता हुन्छ र ब्याजदर बढ्दैन।’
राजनीतिक अवस्थाले पनि बजारलाई सकारात्मक ऊर्जा दिने दाबी उनको छ।