मंगलबार, भदौ १६, २०८३

आफैं ठगिन तयार छन् उपभोक्ता, सचेत हुने कहिले ? 

उपभोक्ता सम्बन्धी ऐनकानुनका ठेली छन् तर उपभोक्ता आफैं सचेत नहुँदा ठग्ने– ठगिने क्रम झनै बढेको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

उपभोक्ता सम्बन्धी ऐनकानुनका ठेली छन् तर उपभोक्ता आफैं सचेत नहुँदा ठग्ने– ठगिने क्रम झनै बढेको छ।

पोखरा– कास्की लुम्ले काँडेको शुद्ध मह भनेर बेच्दै हिँडेको टोली केही समयअगाडि पर्स्याङमा भेटियो। तर लुम्लेमा मह उत्पादन हुँदैन। 

तापक्रमका कारण त्यहाँको उचाइमा मौरी बाँच्न नसक्ने विज्ञ बताउँछन्। उपभोक्तालाई यो थाहा छैन, चिसो ठाउँको मह मिठो हुन्छ भनेपछि किन्न झुम्मिन्छन्। 

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण आचार्यले त्यो टोलीलाई भेटे। परिचय नखुलाई आचार्यले उनीहरूलाई पहिलो पटकका लागि भन्दै सम्झाई–बुझाई पठाए।

एक उपभोक्ताले बजारको पसलबाट शक्तिवर्धक औषधि भनेर सानो पुरियालाई तीन हजार रुपैयाँ तिरे। 

त्यसमा उत्पादन मिति, लेबल र कुनकुन वस्तु मिसाएर बनाएको हो भन्ने जानकारी केही थिएन। घरमा लगेर खाँदा त मुखभरि घाउ आयो। 

ती उपभोक्ताले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा फोन गरेर गुनासो गरे। सरकारी निकायले बजार अनुगमन नगरेका कारण आफू ठगिएको उनको गुनासो थियो। 

तनहुँमा स्थानीय गाउँलेले बनाएको झिलिंगा पूजामा प्रसादका रुपमा प्रयोग गरियो। कपडा रङ्याउने रङ प्रयोग गरिएकाले प्रसाद खानेहरू बिरामी परे। रङले राम्रो देखिए पनि अखाद्य वस्तु प्रयोगबारे न बनाउने सचेत भए, न खानेहरु नै। 

हो, बजारमा बग्रेल्ती समस्या छ। सडकछेउका चटपट पसलदेखि नाम चलेका दोकान, होटेल रेस्टुरेन्ट, खाद्यान्न उद्योग जताततै समस्या छ। 

अनि उपभोक्ता हितसँग जोडिएका तीन दर्जनभन्दा बढी कानुन पनि नभएका होइनन्।  समस्या बढेको बढ्यै छ। 

समस्या के का कारण आयो त? उपभोक्ता सचेत नभएकाले, उत्पादक, ढुवानीकर्तादेखि विक्रेताहरु जिम्मेवार नभएकै कारण यो समस्या आएको स्पष्ट छ। तर यसमा मुख्य जिम्मेवार को? प्रश्नजस्तै उत्तर पनि सहज छ। सबै पक्षले आआफ्नो जिम्मेवारी र दायित्व वहन गरिदिए यस्ता समस्या आफैं समाधान भएर जान्छन्। 

उपभोक्तालाई नै सचेत गराउनुपर्ने महसुस गरेर गण्डकी प्रदेश सरकारले पहिलो चरणमा उपभोक्ता सचेतना कार्यक्रम थालेको छ। 

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीले पोखरा महानगरका ३३ वटै वडाका जनप्रतिनिधि र टोल विकास संस्थाका प्रतिनिधिका लागि सचेतना कार्यक्रम थालेको हो। 

बुधबार वडा नम्बर ६ देखि १० सम्मका प्रतिनिधि, पत्रकार र उपभोक्ता अधिकारकर्मीसँग अन्तरक्रिया भएको छ। 

निर्देशनालयका निर्देशक केन्द्र सरकारले बनाएको उपभोक्ता संरक्षण ऐनमा टेकेर प्रदेश सरकारले बजार अनुगमन नियमावली बनाएर काम थालेको बताए। 

अहिलेसम्म सुधारात्मक तरिकाले आफू अगाडि बढेको भन्दै उनले अब कारबाही थाल्ने बताए। उनले उपभोक्ता संरक्षण ऐनमा उल्लेख भएका प्रावधानका बारेमा जानकारीसमेत गराए । 

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले पसलमा सामान किन्न जाँदा उपभोक्ता कम्तीमा पनि उपभोग्य अवधि, उत्पादन मिति, मूल्यजस्ता विषयमा ध्यान दिन आग्रह गरे। 

अनुगमन गरेका बेला केही सुधारिएको जस्तो देखिए पनि बजारमा बग्रेल्ती समस्या रहेको उनको भनाइ थियो।

स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन गर्ने र वडाध्यक्षलाई अधिकार प्रत्यायोजन समेत गर्न सकिने भए पनि गण्डकीका सबैजसो जिल्लामा यस्तो हुन नसकेको उनले बताए। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजी बरालले उपभोक्ताले ससाना कुरामा ध्यान दिए सुधार हुँदै जाने बताए। 

कार्यक्रममा निर्देशनालयका अधिकृत प्रदीप रेग्मी, पत्रकार पुण्य पौडेल, वडा नम्बर ८ की सदस्य किरण गौतम, अधिकारकर्मी उत्तम जोशी, नेत्र सुवेदी, अधिवक्ता अनन्तप्रसाद कोइराला, शिवालय टोल विकास संस्थाका अध्यक्ष गिरधारी अधिकारी, महिला उद्यमी पिंगला भट्ट लगायतले उपभोक्ता सचेतनाका बारेमा बोलेका थिए। 

पहिलो चरणमा १ देखि ५ वडाका जनप्रतिनिधि र टोलविकास संस्थाका लागि निर्देशनालयले यस्तै कार्यक्रम गरेको थियो।

प्रकाशित: Mar 04, 2021| 05:35 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।