विराटनगर– मोरङको सुनवर्षी नगरपालिका–८ का वडाध्यक्ष नुरुल मियाँसँग दोहोरो नागरिकता रहेको पाइएको छ। उनीसँग नेपाल र भारतको नागरिकता रहेको खुलेको हो।
वडाध्यक्ष मियाँसँग ७०५४९२०३५५७० ‘क’ भीआइडी ९१२३८१११८८५३४५० नम्बरको आधार कार्ड छ। उक्त आधार कार्डमा नागरिकता नम्बर १९७९–१–१ लेखिएको छ। नेपाली नागरिकतामा भने नुरुलको जन्म मिति २०३६ वैशाख २० गते लेखिएको छ। उक्त नागरिकताको नम्बर ६११८ हो भने जारी मिति २०५५ असार ५ गते।
वडाध्यक्ष मियाँले आधार कार्डका आधारमा भारतको फिनो पेमेन्टस बैंकमा २०००२७६३७३२ नम्बरको बैंक खातासमेत खोलेका छन्। उनले बैंक एटीएम कार्डसमेत लिएको देखिन्छ। उनले बैंकमा ९०६५६८८१९८ नम्बरको भारतीय सम्पर्क नम्बर राखेका छन्। सो बैंक खातामा नुरुलको ठेगाना मातारा मियाँ सोनापुर वडा नम्बर ८ अररिया देखिन्छ।
नेपालमा पनि नुरुल मियाँको नाममा वंशजकै नागरिकता छ। वडाअध्यक्ष मियाँले व्यवसाय गरेपछि बैंकमा खाता खोलेको बताउँदै अहिले ठेक्कापट्टा लगायतका विषयमा जोडिएका केही व्यक्तिहरूले अनावश्यक उचालेर प्रभावित बनाउन खोजेको बताएका छन्। उनले दिल्लीमा बस्दा आधार कार्ड बनाएको स्वीकार गर्दै आफू भारतीय नागरिक नभएको जिकिर गरेका छन्।
आधार कार्ड बनाएपछि बस्नका लागि सहज हुने भएका कारण बनाएको बताउँदै अध्यक्ष मियाँले भारतीय नागरिक भएको पुष्टि हुने अन्य कागजात नभएको दाबी गरे।
मियाँको दोहोरो नागरिकताबारे जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ।