बुधबार, भदौ १७, २०८३

प्रधानमन्त्री ओलीद्वारा गैंडाको अभिभावकत्व ग्रहण

प्रधानमन्त्री ओलीले सदर चिडियाखानामा भएको गैंडाको अभिभावकत्व ग्रहण गरेका छन्।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं- प्रधानमन्त्री ओलीले सदर चिडियाखानामा भएको गैंडाको अभिभावकत्व ग्रहण गरेका छन्।

विश्व वन्यजन्तु दिवसको अवसरमा बुधबार सदर चिडियाखानामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले गैंडाको अभिभावकत्व ग्रहण गरेका हुन्।

‘गैंडा नेपालको रैथाने प्राणी हो,’ प्रधानमन्त्री ओलीले वन्यजन्तु दिवस समारोहलाई सम्बोधन गर्दै भने, ‘नेपालको वास्तविक धर्तीपुत्र हो गैंडा। यसलाई नेपाल प्यारो छ।’

उनले मानवलगायतको प्राणी बरु स्थानान्तर भई यताउता जाने तर गैंडा कहिँ नजाने बताउँदै भने, ‘यो यहीँको हो। यस देशमाथि यसको प्याटेन्ट लाग्छ।’

वन्यजन्तु दिवस तथा चिडियाखाना नेपाल प्रकृति संरक्षण कोषले सञ्चालन गरेको २५ वर्ष पुगेको उपलक्ष्यमा कोषले ‘एडाप्ट एन एनिमल’ कार्यक्रमको घोषण गरेको थियो।

सोहीअनुसार प्रधानमन्त्री ओलीले गैंडाको अभिभावकत्व ग्रहण गरेका हुन्।

यस्ता कार्यक्रमले वन्यजन्तुको संरक्षण तथा संरक्षण शिक्षामा सकारात्मक सन्देश जाने विश्वास उनले व्यक्त गरे।
‘संरक्षण प्रयासमा नयाँ थालनीको सुरुवात भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब प्रत्येक विद्यार्थीलाई अनिवार्य रुपमा संरक्षण शिक्षा दिनु आवश्यक छ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले चिडियाखानाको इ–टिकटको पनि शुभारम्म गरे।

‘मैले पहिलोपटक जेष्ठ नागरिकको सुविधा लिएर छुटमा टिकट काटें,’ ओलीले भने, ‘छुट हुँदा त सस्तै पर्दो रहेछ तर जेष्ठ नागरिक भइँदा खङ्ग्रङ पनि भइने।’

प्रधानमन्त्रीले ओलीले बिजुली गाडा चढेर चिडियाखानाको अवलोकन पनि गरेका थिए भने चिडियाखानामा भएको ३० वर्ष पुरानो पवनकली हात्तीलाई खाना पनि खुवाएका थिए।

जेष्ठ नागरिकलाई टिकटमा छुट भए सरह चिडियाखाना घुम्न पनि बिजुली गाडाको व्यवस्था हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले ४ वटा बिजुली गाडाको व्यवस्था गर्ने प्रतिबद्धता जनाए।

‘मन्त्रालयल ४ वटा बिजुली गाडाको व्यवस्था गर्नेछ,’ मञ्चबाट ओलीले भने।
कार्यक्रममा प्रम ओलीले प्राणीको अभिभावकत्व ग्रहण गर्ने कन्टिनेन्टल टे«डिङ, काष्टमण्डप इभेन्ट, लक्ष्मी बैंक, नाराङ हस्पिटालिटी, मेगा बैंकलाई प्रमाण पत्र प्रदान गरे।

बुधबारको कार्यक्रममा प्राणीलाई ग्रहण गर्ने सबैभन्दा कान्छा सदस्य १० वर्षीय भिमान कोहिनुरसिंह बस्नेतलाई पनि प्रम ओलीले प्रमाणपत्र प्रदान गरे।

‘एडाप्ट ए एनिमल’ कार्यक्रमअनुसार अब जो कोहीले सदर चिडियाखानामा भएको जिवजन्तुलाई अभिभावकत्व लिने पाउनेछन्।

कोषले व्यक्ति, समूह वा संस्थाहरुलाई वन्यजन्तु व्यवस्थापन तथा संरक्षणमा प्रत्यक्षरुपमा सहभागी गराउन यो कार्यक्रम ल्याएको हो। 

‘हाललाई चिडियाखानामा भएका १२ प्रजातिका वन्यजन्तुबाट ‘एडाप्ट ए एनिमल’ सुरुवात गरिएको छ,’ सदर चिडियाखानाकी संरक्षण शिक्षा तथा सूचना अधिकृत लिना चालिसेले बताइन्, ‘विस्तारै अन्य प्रजातिको पनि अभिभावकत्व खुला गरिनेछ।’

अभिभावकत्व लिने व्यक्ति वा संस्थाले चिडियाखानामा भएका प्राणीको वर्षभरिको खाना, स्वास्थोपचार, कर्मचारी व्यवस्थापनलगायतको तोकिएको खर्च बेहोर्नेछन्।

सुरुवाती चरणमा चिडियाखानाका १२ प्रजातिका कुल ३३ प्राणी अभिभावकत्वका लागि खुला गरिएका छन्। ती प्रजातिमा गैंडा, जलगैंडा, हात्ती, बाघ, चिम्पान्जी, वनमान्छे, दुई प्रजातिको भालू, गोही, पाण्डा, डाँफे र सारस छन्।
हाल चिडियाखानामा एक सयभन्दा बढी प्रजाति संरक्षित छन्।

कोरोना महामारीका बेला झण्डै १० महिना बन्द हुँदा चिडियाखाना आर्थिक संकटमा परेको थियो।

कोरोनाकै कारण निकुञ्ज बन्द हुँदा पनि नेपाल प्रकृति संरक्षण कोष आर्थिक संकटमा परेको थियो।

प्रकाशित: Mar 03, 2021| 13:58 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।