काठमाडौं- तेजीमाया गुरुङ र जानुका थापा वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
बुधबार भएको महिला ४८ केजी तौल समूहमा तेजीमायाले चितवनकी कल्पना रावल र यही तौल समूहमा जानुकाले कोट्स्यभैरवकी दीपा शाहीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन।
नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजन र नागार्जुन नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको महिला ४८ केजीमै बोसिगाउँकी माया क्षत्रीले रसुवाकी रोनिता सिंहलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाइन्।
सोही समूहको अर्को खेलमा नुवाकोटकी प्रगति थापाले काभ्रेकी रोशनी लावतीलाई पराजित गरिन्।
महिला ५१ केजी तौल समूहमा नुवाकोटकी प्रतिभा शाहीले बक्समान्डुकी सपना तामाङ र प्लाटिनियमकी केनिका राईले रामेछापकी रोजिना रञ्जितलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए।
यसैगरी पुरुषकै ४९ केजी तौल समूहमा नुवाकोटका मोहन गुरुङ, चितवनका सुरज गुरुङ, काभ्रेका धमेन्द्र राई तारकेश्वरका सुरज ओली क्वार्टरफाइनलमा पुगे।
मोहनले बक्समान्डुका अभिराज तामाङ, सुरजले गुरुङले ताल्चीखेलका हेवीचन्द्र साम्पाङ, धमेन्द्रले रसुवाका अभिषेक राई र सुरज ओलीले भक्तपुरका राकेश राजलवटलाई पराजित गरे।
पुरुषकै ५२ केजीमा काभ्रेका रोशन मलिक, रसुवाका यानव राई, सिन्धुलीका डेभिड तामाङ, बक्समान्डुका वान्डी शेर्पा, चन्डोलका रमन अली, बोसिगाउँका महेन्द्रविक्रम ठकुरी र बक्समान्डुका सुरज महर्जनले पनि अन्तिम आठमा स्थान बनाए।
प्रतियोगिताको बुधबार पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरे।
उनले कोरोना भाइरसको महामारीका कारण खेलकुदका गतिविधि सुस्त रहेको अवस्थामा प्रतियोगिताले खेलाडीहरुमा उत्साह जगाउने काम गरेको बताए।
सागका पदक विजेता सम्मानित :
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङ खेलका पदक विजेता खेलाडी बुधबार सम्मानित भएका छन्। वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा १३औं सागका पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो।
काठमाडौंको स्युचाटारमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले १३औं सागका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेका हुन्।
कार्यक्रममा स्वर्ण विजेतालाई १० हजार, रजत पदक विजेता खेलाडीलाई सात हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही पाँच हजार रुपैयाँबाट सम्मान गरिएको थियो।
२०७६ मंसिरमा नेपालमै आयोजना भएको १३औं सागमा बक्सिङले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो।