चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा चितवनमा आज आयोजित शोकसभामा उनले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताएका हुन्।
सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएका थिए। पौडेलको जवाफमा सभापति देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताएका हुन्। उनले भने, ‘कांग्रेसले पदको लोभ पनि गरेको छैन। टाउकामा आयो भने भाग्ने पनि छैन। प्रधानमन्त्री पाउँ पनि भनेको छैन। आयो भने भाग्नेवाला पनि छैन।’
आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै सभापति देउवाले भने, ‘चिन्ता नलिनुस् रामचन्द्रजी, पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला। तपाईं शेरबहादुरजी हुनै हुँदैन भन्ने चाहानुहुन्न जस्तो लाग्छ। तपाईंको भनाइबाट त्यही बुझियो।’ पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय राख्न आग्रह गर्दै उनले अबको राजनीतिमा जे आउँछ, त्यो बेहोर्दै जानुपर्ने बताए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसदमा छ, त्यसैअनुसार अघि बढ्नुपर्ने बताए। उनले भने, ‘विपक्षी दलको सही भूमिका कांङ्ग्रेसले निर्वाह गर्नुपर्छ।’
सानो संख्यामा संसदमा भए पनि कांग्रेसको भूमिका ठूलो र जिम्मेवारीपूर्ण रहेको उनको भनाइ थियो। कांग्रेसले सजग र इमान्दार भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्नसके अर्कोपटक लोकतन्त्रको रक्षा गर्न सक्ने गरी संसदमा बलियो पार्टी बन्ने पनि उनले बताए।
–रासस