काठमाडौं– सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता सुरु भएको छ। दुई पक्षबीच बुधबार अपराह्न ४ः३५ देखि वार्ता सुरु भएको हो।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र नेकपा विप्लवका तर्फबाट प्रवक्ता खडकबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी छन्।
यसअघि दुई पक्षबीच बिहान पहिलो चरणको वार्ता भएको थियो। पहिलो चरणको वार्तापछि गृहमन्त्री थापाले वार्ता सहमति नजिक रहेको जनाएका छन्।
उनले विप्वलसँग धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक रहेको स्पष्ट पारेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही विषयमा छलफल जारी छ। छिट्टै सुखद परिणाम आउने अपेक्षा छ।’
सरकारले गत वर्ष फागुन २८ गते विप्लवका गतिविधि प्रतिबन्ध लगाएको थियो। त्यसपछि विप्लवका कार्यकर्ताले देशका केही ठाउँमा हिंसात्मक गतिविधि गर्दै आएका थिए।
सरकारले मंगलबार वार्ता टोली गठन गरेपछि विप्लव पनि वार्तामा बस्न तयार भएको हो। सरकारले वार्ता गरे पनि विप्लव नेकपाका गतिविधिमाथि लगाएको प्रतिबन्ध भने फुकुवा गरेको छैन।