काठमाडौं– पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका सबै अदालत बन्द हुने भएको छ।
सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत र न्यायाधीकरणहरुमा शोक बिदा दिने निर्णय गरेको हो।
पूर्व प्रधानन्यायाधीश सिंहको मंगलबार निधन भएको थियो।
सिंह २०५२ असोज १० गतेदेखि २०५३ फागुन ३ गतेसम्म प्रधान्यायाधीश भएका थिए। १९८८ साल फागुन ३ गते सर्लाहीमा जन्मिएका सिंह २०१० सालमा सरकारी सेवामा प्रवेश गरेका थिए।
‘सिंहको निधनबाट न्याय र कानुन क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको छ’, सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।