काठमाडौं– फरान टोरेस गर्चिया, अर्थात् म्यानचेस्टर सिटीका स्पेनिस खेलाडी। उमेर २१ वर्ष, उचाइ १.८४ मिटर र तौल ७७ किलो।
टोरेसको परिचय यतिमा मात्रै सीमित छैन। उनले आफूलाई फरक परिचयका साथ उभ्याउन थालेका छन्। त्यो परिचय हो, उनको ड्रिबल कौशल।
जब उनी मैदानमा फुटबल नचाउन थाल्छन्, मानिसको ध्यान उनीतिरै केन्द्रित हुन्छ। त्यसैले त अहिले फुटबल पण्डितहरुले भन्न थालेका छन्–टोरेस ड्रिबलिङका राजा हुन् र उनी त्यो गर्न रुचाउँछन्।
म्यानचेस्टर सिटी बलियो टोली हो। सिटी कागजमा मात्रै बलियो छैन, मैदानमा त्यो भन्दा बलियो छ। सिटीको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएपछि एक पटक जोसे माउरिन्हो (हाल टोटनहमका प्रशिक्षक)लाई सोधियो– प्रिमियर लिगमा सबैभन्दा बलिया तीन टोली कुन–कुन हुन् ?
माउरिन्होको जवाफ थियो– पहिलो लिभरपुल, दोस्रो म्यानचेस्टर सिटी र तेस्रो म्यानचेस्टर सिटी। माउरिन्होको जवाफले धेरैलाई अचम्मित बनायो। उनले यसलाई व्याख्या गर्दै भनेका थिए– सिटीले रिजर्भ टिम खेलाएर पनि प्रिमियर लिग जित्न सक्छ।
माउरिन्होको त्यो विश्लेषण सिटीका हकमा अहिले अझ सान्दर्भिक छ। लिभरपुल मैदानमा बलियो देखिन सकेको छैन। सिटीले जितको वेग हानेको हान्यै छ। र त सिटी अहिले प्रिमियर लिगमा ६५ अंक जोडेर दोस्रो स्थानको युनाइटेडलाई १५ अंकले पछि पारिसकेको छ।
सिटीमा त्यस्ता खेलाडीहरु छन्, जुन एकसे एक क्षमतावान छन्। तिनै क्षमतावान खेलाडीहरुबीच सुरुवाती रोजाइमा पर्न प्रतिस्पर्धा हुँदै आएको छ। त्यो प्रतिपस्र्धामा टोरेस समेत छन्।
सिटी पुगेयता उनले २६ खेल खेलेका छन्। त्योमध्ये १७ खेलामा पहिलो रोजाइमा खेलेका छन्। पहिलो रोजाइमा खेल्न चरम प्रतिस्पर्धा हुने सिटी जस्तो टोलीमा १७ खेलमा पहिलो रोजाइमा पर्नु आफैंमा ठूलो कुरा हो।
धेरै खेलाडीको सपना हुन्छ, अर्ली ट्वान्टीमै क्लबका लागि सय खेल खेल्न सकियोस्। गत सातामात्र २१ टेकेका टोरेसको सपना पनि त्यही हो। अझ युरोपकै उत्कृष्ट लिगमा त्यो सफलता हात पार्नु खेलाडीका लागि महत्वाकांक्षाको विषय पनि हो।
तर यो महत्वाकांक्षा एउटा असाधारण खेलाडीका लागि असम्भव होइन। पछिल्लो वर्ष टोरेसले आफ्नो २० औं जन्मदिन मनाउँदा उनीे त्यो कोसेढुंगा नजिक थिए। र अहिले पार गरिसकेका छन्।
‘अप्रत्याशित’ एउटा त्यस्तो शब्द हो, जुन भ्यालेन्सियाको एकेडेमीका निर्देशक जोज जिमेनेजले खेलका दौरान टोरेसको प्रदर्शन हेरेर भन्ने गर्छन्। ‘विस्फोटक’ अर्को त्यस्तो शब्द हो जसलाई भ्यालेन्सियाका स्थानीय फुटबल पत्रकार पेड्रो क्याम्पोसले टोरेसको खेललाई लिएर प्रयोग गर्छन्। यसैकारण हो ‘लस प्रोभिन्सियस’ पत्रिकामा ‘विस्फोटक’ शब्द स्थानीय भाषामा धेरैपटक छापिएको छ।
उनलाई हेर्ने र विश्लेषण गर्ने जो होस्, उनका बारेमा जुन कोणबाट विश्लेषण गरोस्। उनी फुटबलका उदाउँदो ‘तारा’ हुन् भन्ने तथ्यलाई अस्वीकार गर्न सक्दैन। त्यसो त सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाका नजरमा पर्नु पनि त खेलाडीका लागि सम्मानजनक कुरा हो। त्यसमाथि लिभरपुलले दबदबा बनाएको लिगमा उपाधि जित्ने दाउमा टोरेसलाई अनुबन्ध गर्नुले विश्वभरका फुटबल प्रेमीको ध्यान उनीतिर नखिचिने कुरै भएन।
स्पेनिस क्लब भ्यालेन्सियाबाट टोरेस सिटीमा अनुबन्धित हुँदा धेरैको प्रश्न थियो– यो कसरी सम्भव भयो ? चौथो स्थानबाट पछिल्लो सिजन नवौंमा पुगेको भ्यालेन्सियामा मार्सेलिनो गर्सियासँगै तीन प्रशिक्षक फेरिए। यद्यपि टोरेसले टिममा उही लय र शैली कायम राखे। गत सिजन भ्यालेन्सियाबाट उनले पाँच एसिस्ट र चार गोल गरेका थिए।
जुन आँकडा भ्यालेन्सियाका सर्वाधिक गोलकर्ता म्याक्सी गोमेजपछिको थियो। भ्यालेन्सियाले गत सिजन केवल ४६ गोल मात्रै गर्न सकेको थियो। ‘उनी पूरा विंगर हुन्। उनले जब आक्रमण गर्छन, विपक्षीमाथि ठूलो दबाब सिर्जना हुन्छ,’ पत्रकार क्याम्पोस भन्छन्, ‘उनी तिव्र गतिका, ड्रिबलिङ र हेडिङ कौशलले निपूर्ण खेलाडी हुन्।’
टोरेसलाई प्रशिक्षक मार्सेलिनोले पहिलो टोलीमा ल्याएका हुन्। भ्यालेन्सियाको ‘बी’ टिमबाट १२ खेल खेलेका उनलाई मार्सेलिनोले १७ वर्षको हुँदा नै पहिलो टिममा ल्याए। त्यसपछि उनले क्लबसँग नयाँ सम्झौता गरे।
‘एकेडेमीका सबै किशोर खेलाडीको क्लबको सिनियर टिमबाट खेल्ने सपना हुन्छ,’ चार वर्षअघिको पल सम्झँदै टोरेस भन्छन्।
उनलाई त्यहाँसम्म पुग्न धेरै कुराले साथ दियो। खेल धेरै चाँडो परिपक्व भयो। उनले अनपेक्षित रुपमा बलको प्राविधिक पक्षलाई बुझ्न थाले। उनको ट्रान्सफरलाई लिएर स्पेनिस फुटबल एक्सपर्ट टेरी जिब्सनले सिटीले सस्तैमा हीरा किनेको बताएका थिए। ‘भ्यालेन्सियाले टोरेससँग लामो समयका लागि सम्झौता नगर्नु उनीहरुको असफलता हो। ला लिगामा सबै खलाडीको बाइआउट क्लज छ। तर उनी त्यो भन्दा धेरै कममा बिक्री भए,’ उनले समर विन्डोको अन्तिममा भनेका थिए।
उनी ग्वार्डिओलाको प्रशिक्षणमा अहिले थप निपूर्ण बन्दै छन्। हुन त त्यसअघि नै स्पेनको सबै उमेर समूहका राष्ट्रिय टिममा खेलिसकेका थिए। उनले २०१९ मा यू–१९ च्यम्पियनसिप जित्ने क्रममा पनि गोल गरेका थिए।
अन्तिम खेलमा पोर्चुगलविरुद्ध गोल गरेपछि उनी प्रतियोगिताकै उत्कृष्ट चुनिए। यता भ्यालेन्सियाबाट ९७ खेल खेलेका उनले १२ एसिस्ट र ९ गोल गरेका थिए।
अहिले सिटीमा समेत उनी कमजोर छैनन्। उनले २६ खेलबाट ८ गोल र तीन एसिस्ट गरेका छन्। उनले कुनै खेलमा रातो कार्डको सामना गर्नु परेको छैन। अनुशासित खेल, शान्त अनुहार र आक्रामक खेलका कारणले नै त हो टोरेसले डेविड शिल्भाले लगाउने २१ नम्बरको जर्सी पाएको। सिटीमा अनुबन्ध भएको ठीक १६ दिनपछि नै उनले डेब्यू गरेका थिए।
क्लबमा मात्रै होइन, अन्तर्राष्ट्रिय खेलमा समेत उनले ठूलै उपलब्धि हासिल गरेका छन्। तीन वर्षअघि उनले यू–१७ को च्याम्पियनसिप खेलेका थिए। यू–१७ को फिफा विश्वकप फाइनलमा समेत उनी सम्मिलित टोली पुगेको थियो। उनी यू–१९ को च्याम्पियनसिप विजेता खेलाडी पनि हुन्। उमेर समूहमै यत्तिका उपलब्धि पाएका टोरेसले सिनियर टोलीबाट जर्मनीविरुद्ध डेब्यू गरे। र सोही खेलमा उनले ९० मिनेट खेले। त्यसको तीन दिनपछि युक्रेन विरुद्ध अन्तर्राष्ट्रिय गोल गरे।
गत वर्षको १७ नोभेम्बर उनको खेल जीवनको अविष्मरणिय दिन रहन गयो। त्यो दिन उनले बलियो टिम जर्मनीविरुद्ध ह्याट्रिक गरे। जुन उनको पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक थियो। नेसन्स लिगको उक्त खेल स्पेनले ६–० गोलले जितेको थियो।
अगस्ट महिनामा सिटीमा अनुबन्ध हुँदै गर्दा उनले भनेका थिए, ‘म तुरुन्तै प्रभाव पार्ने खेलाडी हो।’ तर उनले क्लबमा मात्र नभएर राष्ट्रिय टिममा पनि ठूलो प्रभाव जमाएका छन्।
‘म महत्वाकांक्षी खेलाडी हुँ। मलाई थाहा छ यो एक सुरुआत हो। म जित्नका लागि मेहनत गरिरहेको छु,’ उनी भन्ने गर्छन्। उनको खेल हेर्दा लाग्छ, टेरी जिब्सनको अभिव्यक्ति वास्तवमै सही हो। हो, टोरेस सिटीले सस्तो मूल्यमा पाएको हीरा नै हुन्।
(गोल, हु स्कोर, स्काइ स्पोर्ट, म्यानसिटीडटकम र स्कोरवेको सहयोगमा विनयज्योति सापकोटाले तयार पारेको सामग्री)