काठमाडौं– सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा मध्यपुर युथ क्लबले जित निकालेको छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ गोलले हराएको हो।
खेलको ४० औं मिनेटमै आषिस राईले गोल गर्दै श्री कुमारीलाई अग्रता दिलाए पनि पहिलो हाफको अन्तिम मिनेटमा मध्यपुरका कैलाश लामिछानेले खेललाई बराबरी बनाएका थिए।
यससँगै पहिलो हाफ १–१ गोलको बराबरीमा रोकियो। तर दोस्रो हाफको ४८ औं मिनेटमा धिरज श्रेष्ठले गोल गर्दै मध्यपुरलाई जित दिलाए।
लिगमा दोस्रो जित निकालेको मध्यपुरले अंकतालिकामा ७ अंक जोडेको छ। ७ अंकका साथ ऊ आठौं स्थानमा उक्लिएको छ।
यता पराजित श्री कुमारी क्लब हेड टू हेडमा पछि पर्दै नवौं स्थानमा छ।
आज सम्पन्न अर्को खेलमा बाँसबारी क्लबले २–० गोलको जित निकालेको छ। अंकतालिकाको पुछारमा रहेको पुल्चोकविरुद्ध जित निकाल्न दुवै गोल निशान सुनारले गरे।
उनले खेलको ४७ औं र ६९ औं मिनेटमा गोल गर्दै बाँसबारीलाई जित दिलाएका थिए। यो जितसँगै १८ अंक जोडेको बाँसबारी तालिकाको तेस्रो स्थानमा छ। लिगमा ८ खेलबाट २ अंक जोडेको पुल्चोक तालिकाको पुछारमा छ।