बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एचआइभी संक्रमितमाथि सरकारको विभेद, डायलासिस गर्न पुग्नै पर्छ काठमाडौं

एचआइभी संक्रमितमाथि सरकारको विभेद, डायलासिस गर्न पुग्नै पर्छ काठमाडौं

एचआइभी संक्रमितमाथि समाजले त विभेद गर्छ नै सरकारलेसमेत विभेद गरेको छ।
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

पोखरा- एचआइभी संक्रमितमाथि समाजले त विभेद गर्छ नै सरकारलेसमेत विभेद गरेको छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एआरटी सेन्टरमा अहिले झन्डै १ हजार ३०० जनाले एन्टिरेट्रो भाइरल सेवा लिँदै आएका छन्। तीमध्ये २ जनामा मिर्गौलाको समस्या रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित एड्स हेल्थकेयर फाउन्डेसनकी संयोजक डा. प्रीति आचार्य बताउँछिन्। 

पोखराका ठूला अस्पतालहरुमा डायलासिस सेवा उपलब्ध छ। सरकारले तोेकेका अस्पतालमा मिर्गौला बिरामीले डायलासिस सेवा निशुल्क लिने गरेका छन्। आर्थिक हैसियत सबल हुनेले निजी अस्पतालमा पनि यो सेवा लिन्छन्।

अहिले गण्डकी प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा समेत डायलासिस सेवा विस्तार गरेको छ। तर मिर्गाैलाको समस्या भएका एचआइभी संक्रमित यो सेवाबाट वञ्चित छन्। डा. आचार्यका अनुसार पोखराका अस्पतालले दिएको चिठी लिएर उनीहरु काठमाडौंस्थित राष्ट्रिय मिर्गौला केन्द्रमा धाउनुपर्छ। 

पोखरादेखि काठमाडौं पुगेर पनि डायलासिस गर्न पाइने निश्चितता भने छैन। पोखरादेखि काठमाडौं जाँदा खर्च त हुने नै भयो। त्यहाँ पुगेर पनि सेवा पाइनेमा बिरामीहरु ढुक्क हुँदैनन्। किनभने सेवा लिनेको लाइन ठूलै हुन्छ।

एचआइभी संक्रमितसमेत रहेका मिर्गाैला बिरामीका लागि डायलासिस सुविधा काठमाडौंमा मात्रै हुँदा बिरामीले ज्यानै गुमाउनु परेको छ। बेलैमा काठमाडौं जान नसकेकै कारण गएको असारमा मिर्गौला समस्यासमेत रहेका एचआइभी संक्रमितको मृत्यु भयो। भनेको समयमा जान नपाउने र पीसीआर रिपोर्टको चाँजोपाँजो मिलाउँदा मिलाउँदै ती पुरुष संक्रमितको मृत्यु भएको हो।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एआरटी केन्द्र इन्चार्ज कल्पना आचार्य निर्धारण गरिएको समयमा पुग्न नसके काठमाडौंमा समेत डायलासिस गर्न नपाउने अवस्था रहेकाले संक्रमितहरु समस्यामा परेका बताउँछिन्। 

एचआइभी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघले संक्रमितमाथि हुने गरेका विभेदका बारेमा  पोखरामा शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा सहभागीहरुले संक्रमित महिलामाथि स्वास्थ्य सेवामा समेत अझै विभेद कायम रहेको बताए। आफ्ना समस्या सुल्झाउन उनीहरुले गण्डकी प्रदेश सभाका सांसदसमक्ष आग्रह समेत गरे। 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रका फरेन्सिक विज्ञ डा. मदन बरालले संक्रमितको उपचार र हिंसाका घटनाका बारेमा जानकारी गराए। कार्यक्रममा गण्डकी प्रदेशसभामा प्रदेश मामिला समिति सभापति कृष्ण थापा, सांसदहरु कृष्णबहादुर थापा, रोशन गाहामगर, मित्रकुमारी गुरुङ सुवेदी, मधु अधिकारी गुरुङ, इन्द्रधारा विष्ट सहभागी थिए।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले संक्रमितहरुको स्वास्थ्य उपचारमा सरकार संवेदनशील रहेको भन्दै उनीहरुको गोपनीयता कायम राख्दै आफूहरुले काम गर्दै आएको बताए।

प्रकाशित: Feb 27, 2021| 12:55 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।