काठमाडौं- नेकपाका ओली पक्षीय सांसदहरु छलफलमा जुटेका छन्। दरबारमार्गस्थित याक एण्ड यती होटलमा ओली पक्षीय सांसदहरुबीच छलफल भइरहेको छ।
संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको सहभागी एक सांसदले जानकारी दिए।
फागुन ११ मा सर्वोच्च अदालतले संसद पुनः स्थापनाको फैसला गरेपछि राजनीतिक दलहरूले आन्तरिक छलफललाई तीव्र बनाएका छन्।
‘संसदको बैठक आह्वान हुन्छ होला, त्यसपछिको रणनीति के हुने भन्ने विषयमा नै हामी छलफलमा छौं,’ ती सांसदले भने।
संसदको बैठक आह्वान भएपछि नेकपाको दाहाल–नेपाल समूहले पहिलो दिन नै अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सर्वोच्चले असंवैधानिक ठहर गरिसकेपछि उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठेको छ।
तर ओलीले आफूले राजीनामा नदिने र संसदमा फेस गर्ने बताइसकेका छन्। योबीचमा नेकपाका दुवै समूहले सांसदहरुलाई आ–आफ्नो पक्षमा पार्नेदेखि अन्य दललाई पनि आफ्नो पक्षमा समर्थनका लागि तीव्र प्रयास गरिरहेका छन्।
प्रधानमन्त्री ओली आफूविरुद्ध पेश हुने अविश्वासको प्रस्तावलाई फेल गर्ने रणनीतिक अभ्यासमा लागेका छन्।