जति उचाइबाट लड्यो, उति गहिरो चोट। जति धेरै रफ्तारमा पछारियो, त्यति नै पीडा।
इङ्ल्यान्डको फुटबल क्लब लिभरपुल यस्तै अवस्थाबाट गुज्रिरहेको छ। लिभरपुल अहिले यति कमजोर बन्ला भन्ने अनुमान कसैको पनि थिएन।
सिजनको सुरुसम्म लिभरपुलको खेल शैली र सफलतामा धेरैले डाहा गर्थे। लिभरपुल र समर्थकमा भर्खरै ३० वर्षपछि लिग जितेको असीमित खुसी थियो। समर्थक भन्थे– नयाँ सिजनमा पनि लिभरपुलले उपाधि चुम्नेछ। घरेलु फुटबलमा उसकै दबदबा हुनेछ।
यति बेला लिभरपुल हारको शृंखला तोड्न संघर्षरत छ। चोट र हारको पीडाले विक्षिप्त लिभरपुलले जनवरी २२ यता प्रिमियर लिगको घरेलु मैदानमा जित निकाल्न सकेको छैन।
लिभरपुल यसअघि एनफिल्डमा ६८ खेलमा अपराजित थियो। एक महिनामै क्लबको अवस्था नाजुक बन्न पुगेको हो। उसका लागि घरेलु मैदान नै पराई बनेको छ। बरु लिभरपुलले अरूको मैदानमा जित निकाल्न सकेको छ।
फेब्रुअरी २० मा लिभरपुलले एनफिल्डमै एभर्टनसँग हार व्यहोर्यो। त्यो हार मात्रै थिएन, सन् २००० को दशक सुरु भएपछि एनफिल्डमा एभर्टनविरुद्ध लिभरपुलको दबदबा तोडिएको रात थियो।
यसै पनि २३ खेलसम्म एभर्टनले लिभरपुललाई हराउन सकेको थिएन। २४ औं प्रयासमा सफल बनेको एभर्टनले सन् १९९९ पछि पहिलोपटक लिभरपुललाई उसैको मैदानमा हारको स्वाद चखायो।
त्यसैले सधैं मन्द मुस्कानमा देखिने लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप झोक्किए। खेलमा जित होस् वा हार, क्लोप सधैं उस्तै देखिन्थे। पत्रकारसँग ठट्टा गरिरहन रुचाउने उनी खेलाडीलाई कठिन परिस्थितिमा समेत मुस्कानका साथ हौसाइरहन्थे।
एभर्टनसँगको हारपछि उनको मुहारमा मुस्कान मात्रै हराएन, उनले आक्रोशित हुँदै भने, ‘मेरो चिन्ता कसैले लिन पर्दैन।’
फेब्रुअरी १३ मा लेस्टर सिटीसँग ३–१ ले हारेपछि उनले प्रश्न गरेका थिए, ‘के म क्लबबाट निकालिएको छु? मैले क्लब छोडेको छु र? मलाई ब्रेक पनि चाहिएको छैन।’

क्लोप एक्कासि कठोर देखिनुको कारण भने सानो छैन। ३० वर्ष लामो प्रतीक्षापछि लिभरपुललाई लिग जिताएका क्लोपमाथि क्लब समर्थकको गहिरो विश्वास छ। त्यो विश्वास कमाउन उनले पनि ठूलै संघर्ष गर्नुपरेको थियो।
लिभरपुलमा छैटौं वर्ष बिताइरहेका उनले खेलाडी र क्लबको विश्वास जित्ने क्रममा घरेलु मैदानमा ६८ खेलमा ‘अनविटन’ रहनु चानचुने उपलब्धि थिएन।
क्लब सम्हालेको चार वर्षसम्म त उनी उपाधिविहीन थिए। उनले लिभरपुललाई युरोपा लिग र च्याम्पियन्स लिगको एकएकपटक फाइनलमा पुर्याएका थिए। तर, उनी असफल बने। लिभरपुल युरोपा लिगको फाइनलमा सेभिल्लासँग र च्याम्पियन्स लिगमा रियल मड्रिडसँग पराजित भयो।
सन् २०१८–१९ को सिजनमा स्पेनिस महारथी बार्सिलोनासँग पहिलो लेगमा व्यहोरेको ३–० को हार उल्ट्याउँदै दोस्रो लेगमा ४–० गोलले हराएर (समग्रमा ४–३) च्याम्पियन्स लिगको फाइलनमा पुगेपछि विश्व फुटबलको ध्यान लिभरपुलमा केन्द्रित भयो।
त्यही सिजन हो क्लोपले लिभरपुलबाट पहिलो उपाधि जितेको। त्यसपछि सुरु भएको उपाधि यात्रा क्लब विश्वकप, सुपरकप हुँदै प्रिमियर लिगसम्म जारी रह्यो।
प्रिमियर लिगको उपाधि जित्दा कोरोना भाइरसको महामारी थियो। मानिस घरबाहिर निस्कने अवस्था थिएन। तर पनि ३० वर्षपछि लिग जितको उन्मादले समर्थकलाई घरबाहिर निकालिदियो। सहरमा निस्किएका मानिसको भीड थाम्न प्रहरीलाई धौ धौ परेको थियो। तर क्लोपको मन्तव्यले भीड साम्य भयो।
समर्थकलाई सम्बोधन गर्दै क्लोपले भनेका थिए, ‘मैले पाँच वर्षअघि भनेको थिएँ– तपाईंहरूले तपाईहरुले विश्वास गर्नुभयो र जित सम्भव भयो। त्यसैले हामी एकसाथ उत्सव मनाउँनेछौं। आफ्नै घरमा सुरक्षित भएर उत्वस मनाऔं।’
लिभरपुलले शान्त तरिकाले नै विजय उत्सव मनायो। इंग्ल्यान्ड सरकारले दुई हजार समर्थक रंशागालामा प्रवेश गर्न दिएको दिनबाहेक उसका समर्थकले क्लोपले भनेको माने। र, उनलाई विश्वास गरिरहे।
तर, अहिले त्यो विश्वास बिस्तारै गुम्न थालेको छ। जित निस्कँदा खुसी हुनु र हार सुरु भएपछि उपलब्धि भुलेर प्रशिक्षकमाथि खनिनु समर्थको विशेषता नै हो।
क्लोप अहिले यस्तै अवस्थामा छन्। उनलाई प्रतिस्थापन गर्न सक्ने प्रशिक्षकका बारेमा चर्चा भइरहेको छ। समर्थकले ‘क्लोप आउट’ समेत भन्न भ्याएका छन्।
तीन सिजनअघि म्यानचेस्टर सिटीभन्दा एक अंकले पछि परेर दोस्रो भएको लिभरपुलले गत सिजन सिटीलाई नै १८ अंक धेरै बनाएर लिग जित्यो। ९९ अंक जोडेर लिग जितेको लिभरपुल यस वर्ष सिटीभन्दा १९ अंकले पछि परिसकेको छ। समर्थकमा क्लोपप्रतिको भरोसा टुट्दै जानुको कारण यही हो।
क्लोपलाई हौस्याउने पनि उत्तिकै छन्। फेब्रअरीमा उनकी आमाको निधन भयो। तर, क्लोप जर्मनी फर्कन पाएनन्। कोभिड–१९ को नयाँ भेरिएन्ट सुरु भएपछि इंग्ल्यान्डबाट जर्मनी जान त्यहाँको सरकारले रोक लगाएको थियो। त्यो बेला लिभरपुलले क्लोपलाई ढाडस दिँदै लेखेको थियो, ‘यू विल नेभर वाक एलोन, योर्गेन।’
यो खबरले आर्सनल, म्यानचेस्टर युनाइटेड, टोटेनहम, एट्लेटिको मड्रिड, बार्सिलोना पनि स्तब्ध भए। क्लोपले जर्मनीको एक पत्रिकासँग भनेका थिए, ‘मेरी आमा मेरा लागि सबथोक हुनुहुन्थ्यो। उहाँ हरेक कुरामा उत्कृष्ट हुनुहुन्थ्यो।’
त्यसपछि पनि समर्थकले उनका पक्षमा झन्डा देखाएका छन्। यही प्रसंगलाई लिएर क्लोपले भनेका थिए, ‘मप्रति अतिरिक्त चिन्ता आवश्यक छैन। भलै कसैले मेरो बर्खास्ती चाहेका छन्। एकथरी समर्थक भने क्लोपको निरन्तरता देख्न चाहन्छन्।’
भर्जिल भान डाइक, डियागो जोटा र जोय गोमेज जस्ता रोज्जा खेलाडी चोटमा छन्। जोयल मटिप, फाविन्हो, जेम्स मिल्नर र जोर्डन हेन्डरसन समेत चोटले थलिएका छन्। यस्तो अवस्थामा क्लबको हार सामान्य हो। अर्को चिन्ता थपिएको छ– अब उपाधि यात्रा लगभग सकियो।
क्लोपले नै यसको संकेत गरेका छन्। उनले खेलाडी शारीरिक र मानसिक रुपमामा थाकेको बताएका छन्।
लेस्टरसँगको खेलपछि उनले भनेका थिए, ‘धेरै कठिन हप्ता थियो। दुई खेल सँगै थिए। तर हामी शारीरिक र मानसिक रुपमा फ्रेस थिएनौं र हार्यौं।’
त्यसपछि लिभरपुलको हारको यात्रा जारी छ। ३६ वर्षपछि लगातार तीन घरेलु मैदानमा भएको खेलमा क्लबले गोल गर्न सकेको छैन।
जारी लिगमा सात हार र सात बराबरी खेलिसकेको लिभरपुलले स्पष्ट ३५ अंक गुमाइसकेको छ। त्यसबाहेकको ४० अंक पाउन उसले २५ खेलमा संघर्ष गर्नुपरेको छ। अहिले क्लब अंकतालिकोको छैटौं स्थानमा छ।
त्यसैले यो सिजनमा उसका लागि प्रिमियर लिग टाढा भइसकेको छ। च्याम्पियन्स लिगको उपाधि यात्रा पनि सहज छैन। तत्कालका लागि सिंगो लिभरपुलमा खुसी हराएको छ।