काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न आफूलाई नेकपाका दुवै समूहबाट प्रस्ताव आएको बताएका छन्।
आफू निकट केन्द्रीय सदस्यहरूसँग बिहीबार भएको छलफलमा देउवाले आफूलाई प्रधानमन्त्री बन्न दुवै समूहबाट अफर आएको जानकारी दिएका हुन्।
प्रतिनिधिसभा पुनः स्थापना सर्वोच्च अदालतको फैसलापछिको राजनीतिक परिस्थितिबारे देउवाले आफू निकटका नेताहरुसँग छलफल गरेका थिए। सो क्रममा देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिएका थिए।
देउवाले अहिले नेकपा कानुनी रूपमा सग्लो नै रहेको बताएका छन्।
बूढानीलकण्ठमा भएको छलफलमा देउवाले दुवै पक्षको प्रस्तावलार्य आफूले सामान्य रूपमा लिएको बताएका छन्।
‘दुवै पक्षले सहकार्यको प्रस्ताव राखेका छन्। उनीहरुको गतिविधिलाई सूक्ष्म रूपमा नियालेर निर्णय लिनुपर्छ,’ देउवालाई उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘उनीहरु फुटिसकेका छैनन्। कानुनी रूपमा नेकपा सग्लो नै छ।’
पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सहकार्यको प्रस्ताव गरेका थिए। बुधबार नै भएको एक कार्यक्रममा देउवाले दाहाल– नेपालले प्रस्ताव राखे पनि आफूले निर्णय नदिएको बताएका थिए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कि बहुमत सिद्ध गर्नुपर्ने अन्यथा राजीनामा दिनुपर्ने बताएका थिए।
दुवै पक्षबाट सहकार्यको प्रस्ताव आएपछि छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक दिँउसो ३ बजे बस्नेछ।