जनकपुरधाम- नेकपाको दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविलम्ब राजीनामा दिन सुझाव दिएका छन्।
प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपाल समूहले जनकपुरधाममा जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री झाले ओलीलाई इज्जत जोगाउनका लागि पनि राजीनामा दिन सुझाव दिएका हुन्।
उनले नेपाली जनताले प्रतिगामी शक्तिलाई एक पटक फेरी परास्त गरेर देखाएको भन्दै प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनमा दिनु पर्ने बताए।
नेता झाले अब नेपाली राजनीतिमा ओलीको कुनै काम नरहेकोले सन्न्यास लिनुपर्ने समेत सुझाव दिए।
‘पार्टीले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ।’ नेता झाले भने ‘इज्जत जोगाउन राजीनामा दिनुस्, पार्टीले समेत कारबाही गररिसकेकोले बालकोट गएर भूजा फाँक्नुस्।’ अगाडि भने ‘ओलीजी अब नेपाली राजनीतिमा तपाईँजस्ताको कुनै काम छैन, नत्र तपाईजस्ताले पार्टी नै सखाप पार्नेछन्।’
उनले प्रतिगामीको पक्षमा लागेकाहरुलाई पार्टीमा स्थानसमेत नदिन आग्रह गरे। नेता झाले पार्टीमा चोर डाँका तथा फटाहाहरुको कुनै काम नरहेकोले त्यस्ताहरुलाई पार्टीमा स्थान दिन नहुने बताए।
उनले भने ‘नेपाली जनताको यो जितपछि अब पार्टीलाई एक ढिक्का भएर अगाडि बढाउनु पर्छ, त्यसैले पार्टीबाट चोर, डाँका, फटाहाहरुलाई बाहिरको बाटो देखाउनु पर्छ।’
यसअघि दाहाल नेपाल समूहको जनकपुरधामस्थित पार्टी कार्यालयबाट निस्केको जुलुस जनक चोकमा पुगी कोणसभामा परिणत भएको थियो।