बीसीए किन पढ्ने ?
बीसीए मानविकी संकाय अन्तर्गत त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको चार वर्षे ८ सेमेस्टरको कोर्स हो । इन्जिनियरिङ, बिएससी सिएसआईटी जस्ता विषय अध्ययन गर्न नगरेका तर आईटी सेक्टरमा आफ्नो करिअर बनाउन चाहने विद्यार्थीका लागि उपयुक्त विषय हो। यो कम्प्युटर एप्लिकेसन निर्माणसँग सम्बन्धित छ। पछिल्लो समय आईटीको बजार नेपालमा पनि बढेसँगै विश्वविद्यालयले दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यले यो विषयको अध्यापन सुरु गरेको हो।
अन्य आईटीका विषयभन्दा यसको फरक विशेषताहरु के के छन् ?
अन्य आईटीका विषय विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीले अध्ययन गर्छन् भने यो मानविकी संकायमा विद्यार्थीले अध्ययन गर्छन्। सोसल साइन्सलाई आईटीसँग जोडेर गरेको यो विषय कम्प्युटर एप्लिकेसन र प्रोग्रामिङसँग सम्बन्धित छ। यो विषय अध्ययन गरेका विद्यार्थीले सफ्टवेयर डेभलपमेन्ट कम्पनीमा सफ्टवेयर डेभलपर, प्रोगामर, सिस्टम एडमिनिस्ट्रेटरको रुपमा काम गर्न सक्छन्। यसमा आईटीको हाड स्किल सिकाइन्छ। यो विषय एक पटकमा ३५ जना विद्यार्थीले मात्र अध्ययन गर्न पाउने भएकाले पनि प्रत्यक व्यक्ति विशेषलाई ध्यान दिएर अध्यापन गराउन सकिन्छ।
नेपालमा बीसीए अध्ययन गरेका विद्यार्थीको लागि रोजगारीको अवसर सीमित छ भन्ने सुनिन्छ। के भन्नुहुन्छ ?
बीसीए अध्ययन गरेका विद्यार्थीले रोजगारी नपाउने भन्ने हुँदेन। यो नयाँ विषय भएकाले यसका उत्पादन रोजगार बजारमा गइसकेको अवस्था छैन तर एमसीए अध्ययन गरेका विद्यार्थीले रोजगारी पाएका छन्। बीसीए अध्ययन पश्चात विद्यार्थीले एमसीए अध्ययन पनि गर्न पाउँछन्। नेपालमा मात्र नभएर विदेशमा पनि रोजगारीको अवसर छन्।
भारतमा बीसीए अध्ययन गरेका विद्यार्थीले ठूला सफ्टवेयर कम्पनीमा रोजगारी पाएको अवस्था छ। विद्यार्थीले वेब टेक्नोलोजी, डेटावेसहरुबारे सिक्छन्। यो सिधै काममा जान सक्ने दक्ष कामदार उत्पादन गर्ने विषय भएकाले यसको रोजगारीको क्षेत्र व्यापक छ। कम्प्युटर इन्जिनियरिङमा अध्यापन हुने कोर विषयहरु बीसीएमा अध्यापन हुने भएकाले पनि बीसीए अध्ययन गरेका विद्यार्थीहरुले अन्य संकायका विद्यार्थीसँग रोजगार बजारमा प्रतिस्पर्धा गर्न सक्छन्। नेपालमा आईटी कम्पनीहरु देशव्यापी रुपमा खुल्ने क्रममा छन्। बीसीए अध्ययन गरेका विद्यार्थीले आईटी कम्पनीमा जागिर पाउने र आफैँ पनि स्किलफुल हुने भएकाले काम पाउन सजिलो छ।
बीसीए अध्यापन हुने यति धेरै कलेज भएपनि अध्ययन गर्ने विद्यार्थीको संख्या भने न्यून हुनुको कारण के हो ?
बीसीएको सम्बन्धन पाएका कलेजहरु धेरै छन् तर दक्ष फ्याकल्टीको अभावमा सबैले कक्षा सञ्चालन गर्न सकेको अवस्था छैन। बीसीए नयाँ विषय हो र नेपालमा अन्य विश्वविद्यालयका आईटीका कार्यक्रमहरु पनि सञ्चालनमा छन्। आईटीतर्फका विषय धेरै हुँदा बीसीए अध्ययन गर्ने विद्यार्थीको संख्या थोरै देखिएको हो। अब बीसीए अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्दै जान्छ। थेम्स कलेजको कुरा गर्ने हो भने हाम्रोमा विद्यार्थीको सिट अग्रिम रुपमा बुकिङ भएको अवस्था छ। सबै विद्यार्थीले पढ्न पाउने भएकाले पनि यो विषय अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्दै जाने कुरामा ढुक्क हुने अवस्था छ।
थेम्स इन्टरनेसनल कलेजमा नै बीसीए अध्ययन गर्नुपर्ने कारणहरु के–के छन् ?
बीसीए अध्यापन गर्ने अन्य कलेजको तुलनामा यहाँ डेडिकेटेड ल्याब र फ्याकल्टीको व्यवस्था गरिएको छ। अन्य कलेजमा थोरै शुल्कमा बीसीए अध्यापन गराइरहेका छन्। जसले शैक्षिक गुणस्तरमा ह्रास ल्याउने काम गर्छ। तर हामीले यहाँ आईटीलाई फोकस गरेका छौँ। थेम्सले आईटी कलेजको रुपमा आफ्नो परिचय स्थापित गर्न छुट्टै हार्डवेयर ल्याबको व्यवस्था गरेको छ।
आईटी सेन्टर सञ्चालन गरेका छौँ। अनुभवि दक्ष शिक्षकद्वारा अध्यापन गराइने भएकाले पनि यहाँ विद्यार्थीले गुणस्तरीय शिक्षा आर्जन गर्ने विषयमा ढुक्क हुने अवस्था छ। यहाँ फुलटाइम फ्याकल्टीहरु छन्, जसले विद्यार्थीलाई व्यक्तिगत रुपमा ध्यान दिन्छौँ। बीसीएलाई चाहिने पूर्वाधारको पूर्ण व्यवस्था गरेकाले पनि थेम्स कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको हो।