आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला फुटबलमा सोचेभन्दा राम्रो नतिजा : साँच्चै बलियो थियो विराटनगर ?

महिला फुटबलमा सोचेभन्दा राम्रो नतिजा : साँच्चै बलियो थियो विराटनगर ?

विराटनगरकी फरवार्ड कुसुम खतिवडा १४ वर्षकी मात्र हुन्। लिगमा सबैभन्दा कान्छी खेलाडी। तर विराटनगरको खेलमा उनको प्रदर्शन लोभलाग्दो देखियो।
 |  बिहीबार, फागुन ६, २०७७

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, फागुन ६, २०७७

काठमाडौं- नेपालको राष्ट्रिय खेलकुदमा विभागीय टिमको दबदबा कायमै छ। चाहे फुटबलमा होस् वा क्रिकेटमा। एथ्लेटिक्स लगायतका अन्य विधामा नै किन नहोस्।

National life

बाँकी टिमलाई आर्मी, पुलिस र सशस्त्रको टिमसँग प्रतिस्पर्धा गर्न निकै कठिन पर्ने गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा जारी राष्ट्रिय महिला फुटबल लिगमा पनि यही नतिजा देखिन्छ।

सशस्त्र प्रहरीको एपीएफ शीर्ष स्थानमा र त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छन्। उसो भए तेस्रो स्थानमा को छ त ?

स्वभाविक रुपमा दुई पटक (वि.सं. २०६९ र २०७२) लिग उपाधि जितिसकेको पुलिस भन्ने मनमा लाग्छ। तर सत्य यो हो कि गत बुधबारको अन्तिम खेलमा उपाधि विजेता एपीएफले संघर्षपूर्ण जित निकालेको विराटनगर तेस्रो स्थानमा थियो।

औसत सातभन्दा धेरै गोल गरिरहेको एपीएफले विराटनगरविरुद्धको अन्तिम खेलमा १-० गोलको मात्र जित निकाल्यो। पहिलो लेगमा ८–० गोलले हारेको विराटनगर दोस्रो लेगमा बलियो देखियो।

Laxmi sunrise bank
kumari

के साँच्चै बलियो टिम थियो त विराटनगर ?

प्रशिक्षक पारस चौधरी भन्छन्, ‘होइन, हामी एभरेज टिम हो। र, हाम्रो लक्ष्य उपाधि जित्नु थिएन। एभरेज टिमबाट उपाधि जित्न सकिन्न। एपीएफसँगको अन्तिम खेलमा चाहिँ रणनीतिअनुसार खेलाडी चलेकाले ठिकै भयो।’

टिम एभरेज मात्र होइन, लिगअघिको प्रशिक्षण पनि लामो थिएन। नियमित अभ्यास नगरेकासमेत खेलाडी ल्याएर विराटनगरले लिगमा टिम दर्ता गरेको थियो।

‘हामीले छनोटपछि मुस्किलले १०/११ दिनमात्र अभ्यास गरायौँ। त्यतिबेला केही नयाँ खेलाडी पनि थपिए,’ प्रशिक्षक चौधरीले १२ औं खेलपछि पत्रकार सम्मेलनमा भने, ‘अन्तिम खेलमा एपीएफसँग बराबरी गर्ने लक्ष्य थियो। तर, खेलाडी दोस्रो हाफमा गले। र, हामी एक गोल खान पुग्यौँ।’

रौतहटमा सम्पन्न महिला लिगको छनोट खेलपछि सिन्धुपाल्चोक, बागमती, सुर्खेत, काठमाडौंका केही खेलाडी थपेर लिग सुरु हुनु केही दिनअघि प्रशिक्षक चौधरीले टिम मिलाएका थिए।

१६ वर्ष मुनिका खेलाडी पनि टिममा रहेका कारण खेलाडी परिपक्व नभइसकेको चौधरी बताउँछन्। ‘जुनियर खेलाडी दोस्रो हाफको अन्तिमतिर खेलमा जमिरहन सक्दैनन् त्यसले लिगका खेलमा घाटा लागेको थियो,’ उनले भने।

रौतहटमा खेलेको टिमभन्दा उनले लिगमा समावेश गराएको टिममा सात खेलाडी परिवर्तन गरेका थिए। पछि चार इन्डियन खेलाडी थपे।

‘तर, यो टिममा ४/५ जना खेलाडी मात्र अनुभवी छन्। अनु राईलगायतका ५/६ जना त १७ वर्षभन्दा कम उमेरका पनि छन्। साथै खेलको अनुभव पनि खासै छैन,’ उनले भने।

विराटनगरकी फरवार्ड कुसुम खतिवडा १४ वर्षकी मात्र हुन्। लिगमा सबैभन्दा कान्छी खेलाडी। तर विराटनगरको खेलमा उनको प्रदर्शन लोभलाग्दो देखियो।

यद्यपी अभ्यास, अन्य टिम र टिम फर्मेसनको तुनाल गरेर लिग सफल रहेको प्रशिक्षक चौधरी बताउँछन्। उनले लिगमा तेस्रो हुने सोचेका थिए। आफ्ना सबै खेल सकिँदा पाँच जित र एक बराबरी खेल्दै ६ हारका साथ १६ अंक जोडेर तेस्रो स्थानमा रहँदै लिगबाट बिदा भएको छ।

तर १५ र १४ अंक बनाएर समान १–१ बाँकी रहेका पुलिस र वालिङ चौथो र पाँचौ स्थानमा रहँदा ऊ तेस्रो स्थानमा रहेको छ। यसकारण सबै खेल सकिँदा ऊ पाचौं स्थानसम्म झर्न सक्नेछ।

विराटनगरले लिगका खेलाडीको हिम्मत बढाउन चार भारतीय खेलाडी पनि अनुबन्ध गरेको थियो। जसमा पुर्णिमा कुमारी, शारदा कुमारी, अनिता क्षेत्री र आशा कुमारी थिए। त्यसमा पनि दुई खेलाडी सुरुमै चोटग्रस्त बनेपछि बाँकी दुई खेलाडीले मात्र प्रदर्शन दिरहेको प्रशिक्षक चौधरी बताउँछन्।
 

विदेशी खेलाडी विराटनगरलाई केही फाइदा भने गर्‍यो। उनी अनुभव सुनाउँछन्, ‘पहिले हाम्रो पूर्वाञ्चल यहाँ खेल्न आउँदा १६/१७ गोल खान्थ्यो। अन्य टिमले पनि विभागीय टिमसँग २०/२२ गोलको हार व्यहोर्थे। अहिले त्यो कम देखियो। औसतमा ८/९ गोलमा झरेको छ।’

लिगले प्रोत्साहन दियो 

प्रशिक्षक चौधरीले लिगको समीक्षा गर्दै यो प्रतियोगिताले महिला खेलाडीलाई उर्जा दिएको बताए।

यो वर्ष नेपालमा पहिलोपटक दोहोरो लेगको महिला खेलकुद भएको हो। खेल लामो समय चलेकाले पछिल्लो खेलमा खेलाडी लयमा फर्कँदै गरेको प्रशिक्षक चौधरीले अनुभव गरेका छन्।

उनका अनुसार लिगले नयाँ खेलाडी उत्पादनमा पनि सहयोग गरेको छ। तर आयोजक अखिल नेपाल फुटबल संघ(एन्फा)लाई लिगको अवधि कम्तिमा पनि तीन महिनाको बनाउन उनले सुझाव दिएका छन्।

उनले भने, ‘जस्तो : हामीले अस्तिको दिन खेल्यौँ। हिजो मात्र रेस्ट। फेरि आज खेल्यौँ। यसकारण चोट धेरै भयो। अब, यसरी भएन, ग्याप बढाउनु पर्‍याे।’

उनले थपे, ‘अर्को पटक गर्दा होम एण्ड अवेको अवधारणा पनि होस्। कम्तीमा ७२ घण्टाको रेस्ट आवश्यक पर्छ। त्यो भयो भने राम्रो।’

तर होम एण्ड अवेको लागि सबैसँग पूर्वाधार पुग्छ ? भन्ने प्रश्नमा उनले भने, ‘विराटनगरसँग चाहिँ छ। त्यस्तै अन्य नगरपालिकाको पनि पूर्वाधार त होलान्। विभागीय टिमको पनि छँदैछ।’

एन्फाले लिगमा कम अवधि राखेर पत्रचार गरेकाले यो वर्षको लिगमा पर्याप्त समय नपाएको चौधरीले दुखेसो पोखेका छन्।

विराटनगरको नतिजा

विराटनगरले पहिलो लेगमा वालिङसँग १–१ गोलको बराबरी गर्दै खाता खोलेको थियो।

उसले चन्द्रपुरविरुद्ध ५–० गोलको पहिलो जित निकाल्यो। त्यस्तै दोस्रो जित निकाल्ने क्रममा चौदण्डीलाई ६–० गोलले हरायो।

त्यति मात्र होइन्, उसले विभागीय टिम पुलिसलाई पनि १–० गोलले हराएर लिगमा चर्चासमेत बटुल्यो। तर, चौदण्ढीगढीसँगको दोस्रो लेगको खेलमा भने उसले २–१ गोलको संघर्षपूर्ण जित निकाल्यो।

लिग अन्तिमपटक उसले वालिङलाई १–० गोलले हरायो। बाँकि ६ खेलमा भने उसले जित निकाल्न सकेन।

* शीर्षकमा अन्यथा भएकाेमा सच्चाइएकाे छ।

प्रकाशित: Feb 18, 2021| 09:02 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।