युभेन्टस– १९९६, पोर्टो– २००४, बोरुसिया डर्टमन्ड– १९९७। युरोपियन क्लबसँगै लेखिएको मितिले उनीहरूले पछिल्लो पटक यूईएफए च्याम्पियन्स लिग जितेको साल जनाउँछ।
स्पेनिस क्लबले सर्वाधिक १८ पटक लिग जित्दा सेभिया भने अहिलेसम्म युरोपियन च्याम्पियन भएको छैन।
तिनै चार क्लबले आज राति लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगका खेल खेल्दैछन्। यसरी करिब दुई दशकयता उपाधिविहीन क्लबले आज च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछन्।
दुवै खेल नेपाली समयअनुसार आज राति पौन २ बजे हुनेछन्। जहाँ इटालियन क्लब युभेन्टसलाई पोर्चुगिज क्लब पोर्टोले घरेलु मैदानमा आतिथ्यता दिनेछ।
त्यस्तै, अर्को खेलमा स्पेनिस क्लब सेभियाले जर्मन क्लब डर्टमन्डलाई आफ्नो मैदानमा चुनौति प्रस्तुत गर्नेछ।
पोर्टोले च्याम्पियन्स लिगको इतिहासमा कहिल्यै पनि युभेन्टसलाई हराएको छैन। एक खेल ड्र भएको छ भने चार खेलमा युभेन्टस हाबी भएको छ।
तर पोर्टोले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै (आठ पटक) हारेको लिभरपुलसँग हो।
सबैभन्दा पहिले पोर्टो र युभेन्टसबीच नकआउट चरणमा २०१६–१७ को राउन्ड अफ १६ मा भेट भएको थियो। उक्त खेलमा टुरिन साइडले समग्रमा ३–० गोलको जित निकालेको थियो।
युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा लगातार सातौँ पटक प्रवेश गरेको छ। पछिल्लो पाँच सिजनयता पोर्टो भने पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको हो।
उसले समूह चरणबाट माथि उक्लन भने सानदार प्रदर्शन गरेको छ। अर्थात्, लिगका पछिल्ला पाँच खेलमा पोर्टोले गोल खाएको छैन।
अक्टोबरको पहिलो लेगमा प्रिमियर लिगको लिग लिडर म्यानचेस्टर सिटीका फरान टोरेसले गोल गरेपछि पोर्टोलाई अन्य क्लबले गोल गर्न सकेका छैनन्।
सिटीसँगको दोस्रो लेगमा पनि उसले गोलरहित बराबरी गरेको थियो।
डर्टमन्ड (जर्मनी) र सेभिया (स्पेन)को विगत हेर्ने हो भने यी दुई क्लब २०१०–११ को च्याम्पियन्स लिगमा समूह चरणमा भेट भएका थिए। दोहोरो लेगको त्यो समूह चरणका खेलमा २–२ को बराबरीअघि डर्टमन्डले २–१ गोलको जित निकालेको थियो।
तर जर्मन साइडले पछिल्लो १० अवे खेलमा स्पेनिस टिमविरुद्ध जित निकालेको छैन। उसले स्पेनिस टिमसँगको अवे खेलमा तीन बराबरी र सात हार बेहोरेको छ।
उसले अन्तिम पटक १९९६ मा स्पेनिस माटोमा खेल जितेको थियो। र, त्यसको एक वर्षपछि त च्याम्पियन्स लिग नै जितेको थियो।
यता सेभियाले च्याम्पियन्स लिगमा जर्मन क्लबलाई घरेलु मैदानमा १२ पटक होस्ट गरेको छ। जसमा उसले बायर्न म्युनिखसँग मात्र एकपटक हार बेहोरेको छ भने सात जित र चार बराबरी खेलेको छ।
डर्टमन्ड लगातार सातौँ पटक नकआउट चरणमा प्रवेश गरेको छ तर २०१७–१७ यता अन्तिम १६ बाट अघि बढ्न सकेको छैन।