काठमाडौं - नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले हजारौं सहिदहरूको बलिदानीबाट प्राप्त उपलब्धि गुम्न नदिने बताएका छन्।
आज पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रममा दाहालले प्रधानमन्त्री र वर्तमान सरकारबाट महान् सहिद, घाइते, अपांगहरू तथा नेपाली जनताको सपनाहरूलाई कुल्चने दुष्प्रयास भएको भन्दै आफूहरू सह्य नहुने बताएका हुन्।
‘सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धि खतरामा छ, हजारौं सहिदहरूले रगत बगाएर ल्याएको संविधान धरासायी पार्ने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘सम्पूर्णमा फेरि एकपटक संघर्षको मैदानमा उत्रिन अपिल गर्न चाहन्छु।’
यस्तो अवस्थामा सहिदहरूलाई सम्झनु र सम्मान गर्नुको विशेष महत्व रहेको उनको भनाइ छ। दाहालले जरुरी पर्छ भने फेरि बलिदानी गर्न तयार छौं भनेर संकल्प गर्ने दिन पनि भएको बताए।
‘केपी ओलीहरूले सहिदहरूको रगतबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुल्चन सक्छु भन्ने ठानेका छन् भने उनी साह्रै ठूलो भ्रममा छन्,’ उनले भने, ‘छिटै भ्रममुक्त हुन सुझाव दिन चाहान्छु, नत्र कंकालहरू चिहानबाट निस्कनेछन् र परिवर्तनलाई रोक्न खोज्नेहरूविरुद्ध धावा बोल्नेछन्।’
यस्तै उनले लखन थापादेखि हालसम्मका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिवद्धता व्यक्त पनि व्यक्त गरेका छन्।