बुटवल- नेकपा दाहाल–नेपाल समूहले गत माघ १५ गते बुटवलमा शक्ति प्रर्दशन गरेपछि त्यसको काउन्टर जवाफ दिन शनिबार ओली समूहले शक्ति प्रदर्शन गर्दैछ।
प्रधानमन्त्री एंव नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले समेत बुटवलमा हुने आमसभालाई हेर्न विपक्षीलाई पटक–पटक चुनौती दिँदै आएका थिए।
प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने आमसभालाई ओली जनसमर्थनका रुपमा लिने गरेका छन। दाहाल–नेपाल समूहले काठमाडौंमा तीन पटक शक्ति प्रदर्शन गरिसकेको छ। उसो त ओलीले पनि काठमाडौं, धनगढीलगायतका स्थानमा शक्ति प्रदर्शन गरिसकेका छन्।
ओली समूहले पनि दुई पटक आमसभा गरेर शक्ति देखाएका छन। तर, बुटवलमा हुने आजको सभा ओली समूहका लागि सर्वाधिक महत्वको रहेको नेताहरुले बताएका छन।
बुटवल ओली समूहका नेकपा महासचिवतथा अर्थमन्त्री विष्णु पौडेलको गृहनगर हो। त्यसैगरि लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज शंकर पोखरेल समेत बुटवलमै छन।
ओली समूहका नेता टोप बहादुर रायमाझी, नेताहरु खिमलाल भट्टराई, लिला गिरी लगायतका नेताहरुको थलो पनि हो बुटवल।
ओली समूहका रुपन्देही अध्यक्ष शिवराज सुवेदी बुटवल उपमहानगरका प्रमुख छन। ओली समूहको बर्चस्व रहेको बुटवलको शक्ति प्रदर्शनलाई प्रधानमन्त्री र नेताहरुले नै ‘रियल कास्टिङ’ का रुपमा प्रचार गरेकाले नागरिक सहभागिताबारे विपक्षी समूह, दल तथा नागरिकको समेत चासो छ।
मुख्यमन्त्री पोखरेलले २८ गते काठमाडौंमा गरिएको आमसभालाई लक्षित गरि प्रदेशभरिको जनसभा हेर्न आउन काठमाडौंका पत्रकारलाई चुनौती दिँदै सामाजिक सञ्चालनमा समेत लेखेका थिए।
बुटवलको आमसभामा हुने सहभागितालाई नेकपा ओली समूहकै नेताहरुले सर्वाधिक महत्व र चर्चा गरेकाले स्वयमका लागि चुनौतिपूर्ण बनेको एक नेताले बताए।
प्रतिनिधिसभा विघटन भएपछि बुटवलमा नेकपाका ओली र दाहाल–नेपाल समूहले पालैपालो शक्ति प्रदर्शन गर्ने गरेका छन्।
नेकपा ओली समूह लुम्बिनी प्रदेशको आयोजनामा हुने आमसभा अहिलेसम्मकै ठूलो हुने अध्यक्ष लिला गिरीको दावी छ। उनले प्रधानमन्त्रीको कदम उपयुक्त भएको प्रमाण बुटवलबाट सभाबाट प्रमाणित हुने जिकिर गरे।
प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज शंकर पोखरेलले बुटवलको आमसभाले पार्टी एकता, विकास र समृद्धिको नेतृत्वका लागि ओलीको विकल्प नभएको सन्देश दिइने दावी गरे।
उनका अनुसार बुटवलको आमसभामा २ लाख नागरिकको सहभागी हुनेछन्।
रुपन्देहीबाट एक लाख र बाँकी प्रदेशका विभिन्न ठाउँबाट जनसहभागिता गराउने नेकपाको भनाइ छ।
आमसभालाई नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन। मध्यान्ह १२ बजे बुटवल पुष्पलाल पार्कबाट र्याली सुरु गर्ने र बुुटवल सिद्धेश्वर माविको प्राङगणमा सभा हुने छ।
आमसभा अघि बुटवलमा जनुमुक्ति सेनासँग छलफलको आयोजना गरिएको छ।
आमसभामा प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री एंव महासचिव विष्णु पौडेल, नेताहरु टोपबहादुर रायमाझी, शंकर पोखरेल, महेश बस्नेतलगायतका नेताहरुले सम्बोधन गर्ने आयोजकले जनाएका छन्।
नेताहरुले आफ्नो शक्ति देखाउनका लागि जस्तोसुकै ‘हर्कत’ देखाउन थालेका छन।
यसलाई भने आमनागरिकले त्यति रुचि देखाएका छैनन।
ओली समूहले बुटवलमा २ लाख जनता उतार्ने दावी गरेपनि त्यो संख्याका नागरिक सहभागी हुनेमा भने नेताहरु नै विश्वस्त छैनन।
तर, नेकपा ओली समूहले हालसम्म गरेको सभामध्ये धेरै सहभागिता भने बुटवलमा हुने बताइएको छ।