फुङ्लिङ- कञ्चनजंघा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पैदलमार्ग निर्माण हुने भएको छ।
पाँच करोड रुपैयाँको लागतमा बन्ने सो पदमार्गका लागि सिरिजंघा गाउँपालिकाले ‘सिरिजंघा गौरव, कञ्चनजंघा’ मूल नारासहित पाँच करोडको लागतमा तीन वर्षे योजना बनाएको छ।
पर्यटन पूर्वाधार विकास तथा पर्यटन प्रर्वद्र्धन गर्नका लागि संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले ७० प्रतिशत र गाउँपालिको बाँकी लगानीमा पदमार्ग बनाउन लागिएको हो।
साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम गर्ने आयोजनामा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालसम्म पुग्ने पदमार्ग निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताए।
तीन करोड ५० लाख संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलय र एक करोड ३० लाख गाउँपालिकाले लगानी गर्नुपर्ने अध्यक्ष गुरुङले बताए।
तीन वर्षसम्ममा आयोजना निर्माण सम्पन्न गर्नुपर्ने साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिकाअनुसार प्रक्रिया अगाडि बढाउने अध्यक्ष गुरुङको भनाइ छ।
यस आर्थिक वर्षमा प्रारभिक सर्भे गरी पदमार्ग निर्माण प्रक्रिया सुरु हुने छ। उनले भने, ‘नयाँ पदमार्गदेखि हिमाल हेर्दै प्रकृतिक सुन्दरताको अवलोकन गर्दै कञ्चनजंघा बेश क्याम्पसम्म पुग्न सकिने छ।’
पुरानो पदमार्ग काबेली खोलाको किनारैकिनार हुँदै आधारशिविर पुग्नुपर्दछ। केही स्थानमा पहिरोका कारणले स्थानीय नै हिँड्न नसक्ने अवस्था छ। पुरानो पदमार्गमा आवश्यक स्थानमा होटल नभएको र नयाँमा आवश्यक स्थानमा होटल स्थापना गरिने छ। घरबास (होमस्टे) सञ्चालन गर्ने गाउँपालिकाको योजना छ।
पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम ८ नम्बर वडाको याम्फुदिनदेखि सुरु हुनेछ। आम्जी खोलाबाट नयाँ झोरेनी, तुप्लुङ, दुन्दुडाँडा, नगर्चा र चैराम हुँदै कन्चनजङ्गा आधारशिविर जाने साहसिक पदमार्ग बन्ने छ।
नयाँ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गर्नसक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए।