आइतबार, असोज ४, २०८३

डोल्पाली भुइँमान्छेको कथा

मैले बाल्यकालमा नपाएको अवसरको धोको फेर्न गरिएको प्रयासको कथा र भविष्यमा डोल्पा कस्तो हुन सक्छ भनी देखेको सपनाको दस्तावेज हो काेग्ले।
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

डोल्पाको माझफालमा जन्मिएका प्रेमबहादुर बोहरा सामाजिक अभियन्ताका रूपमा परिचित छन्। शिक्षा नेपालका संस्थापक, एक किताब, होप, समुन्नत कर्णाली अभियानका अभियन्ता बोहरा कर्णाली समाजका अध्यक्षसमेत हुन्। सन् २००८ देखि सामाजिक काममा संलग्न उनी पछिल्लो समय राजनीतिमा सक्रिय छन्। उनको पहिलो संस्मरणात्मक कृति कोग्ले शुक्रबार राजधानीमा विमोचन गरिएको छ। सोही कृतिमा आधारित रहेर नेपाल समयले बोहरासँग गरेको संक्षिप्त कुराकानी –

'काेग्ले' कुन विधाकाे कस्ताे कृति हो?

कोग्ले आत्मसंस्मरणात्मक पुस्तक हो। यसमा मेरो बाल्यकालदेखि युवावस्थासम्म आइपुग्दाका विभिन्न चरणका संस्मरण संगृहीत छन्। डोल्पाली समाजमा जन्मिएको एउटा युवकले भोगेको समाज, त्यो समाजभन्दा बाहिरको अनुमान, सहरी जीवनशैली र डोल्पाभन्दा बाहिरको दृष्टिकोण यसमा छ।

कृतिभित्र बाल्यकालका रमाइला किस्सा, स्कुल पढ्नका लागि गर्नुपरेको संघर्ष, एसएलसीपछि सहरमा रुमल्लिएको क्षण मात्र होइन, सहरबाट हेर्दा देखिएको कर्णालीको चित्र पनि छ। साथै मैले चिहाएको संसार र अर्थ्याएको कर्णाली पनि छ।

मैले बाल्यकालमा नपाएको अवसरको धोको फेर्न गरिएको प्रयासको कथा र भविष्यमा डोल्पा कस्तो हुन सक्छ भनी देखेको सपनाको दस्तावेज पनि हो कृति। आफू, आफ्नो ठाउँ र आफू वरिपरिका कुराहरुलाई हेर्ने दृष्टि अर्थात् नजरमा परिवर्तन ल्याउँदा कति फरक पर्दोरहेछ भन्ने अनुभूतिको कथा हो यो।

आत्मसंस्मरण जीवनको उत्तरार्धमा लेख्ने चलन छ। तपाईंले त तीस वर्ष उमेरकै हाराहारीमा समग्र जीवन भोगाइलाई पुस्तकको रुपमा प्रकाशित गर्नुभयो। कसरी? 

समाजमा सफल भनिएका मान्छेले आत्मसंस्मरण लेख्ने गर्छन्। हामीले पढ्दै आएको पनि त्यस्तै हो। मलाई लाग्छ, धनाढ्य, चर्चित र ठूला मान्छे मात्र सफल होइनन्। त्यस्ता व्यक्तिले मात्र संस्मरण लेख्छन् भन्ने पनि होइन।

हरेक व्यक्तिको जिन्दगी उसका लागि सफल हुन सक्छ। त्यस्तो कथालाई उसले पनि लेख्न सक्छ। त्यसो भनेर मैले आफूलाई सफल भन्न खोजेको किमार्थ होइन। म जुन अवस्थामा बाँच्दै छु, जिन्दगीका हरेक भोगाइ आफ्नो तरिकाले भोगरहेको छु। त्यसैले मेरो जीवन भोगाइ लेखनको विषयवस्तु बन्न पुग्यो। त्यो भनेको भुइँमान्छेको कथा हो। यसभित्रका कथा पढेर प्रेरित हुने वा नहुने पाठकको इच्छा हो। हरेकले आफ्नो जीवनकथालाई फरक तरिकाले पनि भन्न सक्छ। 

पुस्तकमा तपाईंका व्यक्तिगत कुरा र आत्मप्रशंसालाई कत्तिको महत्त्व दिनुभएको छ?

आफ्ना बारेमा धेरै कुरा छैनन्। यसमा त मैले चिहाएको संसारको वर्णन छ। जीवन भोगाइका क्रममा व्यक्तिगत रुपमा यसो गरें, त्यसो गरें भनेर न आत्मगान गरिएको छ न प्रशंसा। पुस्तकमा म मात्रै होइन, मेरो पुस्ताको डोल्पाको दृष्टिकोण प्रस्तुत भएको छ। 

सचेततापूर्वक मैले आत्मप्रशंसा ल्याउन खोजेको छैन। आफूले भोगेको मात्र होइन अरुले भोगेका कथा पनि आएका छन्। संसारमा एकजनाले मात्र सबै क्षेत्रमा परिवर्तन ल्याउन सक्दैन। व्यक्तिको प्रयास एउटा सानो अंश मात्र बन्न सक्छ। मैले त्यो अंश बन्न प्रयास गरेको हुँ। तर त्यो बन्न सकियो कि सकिएन मूल्यांकन गर्ने समय बाँकी छ। पुस्तकमा मैले आफूलाई महत्त्व दिएको छु वा समाजलाई भनेर ठम्याउने जिम्मेवारी त पाठककै हो। 

लेखनको प्रेरणा कहाँबाट प्राप्त गर्नुभयो?

सबैको हेराइ आफूले सोचेजस्तो सरल हुँदैन। व्यक्तिको क्षमता र सम्भावनालाई भन्दा पनि कुन भूगोलको हो भन्ने आधारमा मानिसले व्यवहार गर्दा रहेछन्। त्यस्तो प्रवृत्ति अहिले पनि कायमै छ। यसरी विभेद गर्दा पहिलाचाहिँ पीडाका रूपमा प्रतिक्रिया जनाइन्थ्यो। तर अहिले त्यो परिचयका रूपमा स्थापित भइसकेको छ।

कसैले डोल्पाली भन्यो, पाखे भन्यो वा दुर्गमको भन्यो भने दुःखमनाउ गर्नुपर्ने अवस्था छैन अब। यसमा उसले जे बुझ्यो त्यही भन्यो भनेर मलाई खुसी लाग्छ। यस्ता कुराले लेख्न उत्प्रेरित गरेको हो। लेखाइभित्र अन्य कुरा त छँदै छन्। 

‘कोग्ले’ भनेको चाहिँ के हो?

मेरो गाउँको नाम माझफल हो। तर वल्लोपल्लो गाउँका मानिसले हामीलाई ‘कोग्ले’ भन्छन्। हाम्रो गाउँतिर अलिक बढी मकै फल्छ। कोग्ले मकैबाट बनेको खानाको परिकार हो। यो च्याँख्लाको भातजस्तै हुन्छ। मधुमेह रोगीका लागि यो अति हितकर मानिन्छ।

भात खानेलाई भाते, गाउँमा बस्नेलाई पाखे भन्दा जस्तो पीडा हुन्छ, कोग्ले भन्दा हामीलाई त्यस्तै पीडा हुन्छ। त्यही पीडाको आवाजका रूपमा पुस्तकको शीर्षक ‘कोग्ले’ राखिएको हो। अरूले गाली गरे पनि त्यसमा हाम्रो पहिचान छ। त्यसैले सांकेतिक रुपमा यस्तो शीर्षक राखिएको हो।

पाठकलाई के भन्नुहुन्छ? 

आफूले लेखेको पुस्तक धेरैभन्दा धेरै पाठकले पढून् भन्ने चाहना हरेक लेखकको हुन्छ। तर मेरो पुस्तक पढ्नैपर्छ भनेर कसैलाई कर गर्न चाहन्नँ। डोल्पाका बारेमा थुप्रै विदेशी लेखक र केही नेपाली लेखकले पुस्तक लेखिसकेका छन्। तीमध्ये केही डोल्पाकै पनि छन्। अधिकांशले डोल्पालाई बाहिरको आँखाबाट हेरेका छन्। उनीहरुका पुस्तकमा बाहिरी दृष्टिकोण आएको छ।

मैले त्यहाँको भूगोल, विषयवस्तु, जीवनशैली र सामाजिक मुद्दालाई धेरै नजिकबाट हेरेको छु। त्यसैले डोल्पाको स्थानीय दृष्टिकोण र परिवेश बुझ्न यसले मद्दत गर्छ जस्तो लाग्छ। डोल्पालाई चिहाउने सानो अंश हो। पुस्तकमा त्यहाँको भूगोल र समाजको चित्र आउँछ।

डोल्पा यस्तो रहेछ भनेर बाहिरका मानिसले भन्नु र म आफैंले भन्नुमा केही फरक त आउँछ नै। त्यो फरकपन बुझ्नका लागि यो पुस्तक पढ्न सकिन्छ। पढेर राम्रो छ भनेमा हौसला बढ्नेछ। कमीकमजोरी औंल्याइदिएमा सुधार्दै अघि बढ्न थप प्रेरणा मिल्नेछ।  

प्रकाशित: Feb 13, 2021| 01:46 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।