राजस्थानकी एक महिलाले सलमान खानको घोडा किन्दा १२ लाख रुपैयाँ ठगिएको दाबी गरेकी छन्। उनले सलमानको घोडा किन्दा ठगिएको भन्दै प्रहरीमा उजुरीसमेत दर्ता गराएकी छन्।
अमर उजालाका अनुसार प्रहरीमा दर्ता गराएको उजुरीमा ती महिलाले घोडाका लागि आफूले ११ लाख नगद र एक लाखको चेक दिएको बताएकी छन्। उनले यो घटनाको अनुसन्धान गर्न अदालत समेत गुहारेकी छन्। तर, राजस्थानको उच्च अदालतले महिलाको रिट खारेज गरिदिएको छ। अदालतले यो मामला प्रहरीसँग सम्बन्धित भएको र प्रहरीले कानुनअनुसार काम गर्न सक्ने बताएको छ।
ती महिलाका वकिल पीडी देवले उजुरीमा निर्भय सिंह, राजप्रीत तथा एक अन्य व्यक्तिले एक घोडाको तस्बिर देखाएको उल्लेख रहेको बताएका छन्, जुन घोडामा सलमान चढेका थिए।
उनीहरुले ती महिलालाई घोडा बिक्रीमा रहेको बताएका थिए। अरोपितले ती महिलालाई आफूहरुले सलमानलाई चिन्ने र केही घोडा योभन्दा अघि पनि बेचेको बताएका थिए। ती महिलाले उनीहरुलाई विश्वास गरेर १२ लाखमा घोडा किनिन्। तर उनलाई घोडा दिइएन। सोही कारण उनले प्रहरीमा उजुरी गरेकी हुन्।
यसअघि पनि बलिउड स्टारका नाममा ठगी भइसकेको छ। काजल अग्रवालसँग भेटाउने सर्तमा एक फ्यानसँग एक लाख रुपैयाँ असुलेको घटना सार्वजनिक भएको थियो।