शुक्रबार, भदौ १९, २०८३

खुल्यो लुम्बिनी, आएनन् पर्यटक

कोरोना महामारीका कारण पर्यटनको गतिविधि शून्य प्रायः भएको लुम्बिनीमा अझै पर्यटक आउन सकेका छैनन्।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

बुटवल - कोरोना महामारीका कारण पर्यटनको गतिविधि शून्य प्रायः भएको लुम्बिनीमा अझै पर्यटक आउन सकेका छैनन्।

लुम्बिनी विकास कोषको पदाधिकारी बैठकले मंसिर ३ गतेदेखि पर्यटकका लागि लुम्बिनी क्षेत्रमा भ्रमण गर्न खुला गरेको थियो। तर, पर्यटकको आवागमन भने वृद्धि भएको छैन। 

कोरोना महामारीका कारण गत वर्ष चैत ११ देखि मंसिर २ गतेसम्म पर्यटकका लागि लुम्बिनी क्षेत्र भ्रमणका लागि बन्द गरिएको थियो। 

बुद्ध जन्मस्थल लुम्बिनी स्वदेशी तथा विदेशी पर्यटकको आर्कषणको केन्द्र हो। लुम्बिनी विकास कोषका अनुसार आन्तरिक पर्यटकहरूको संख्या विस्तारै बढ्दै गए पनि विदेशी पर्यटकको संख्यामा भने वृद्धि हुन सकेको छैन। 

पर्यटकका लागि खुला गरिएपछि २०२० को नोभेम्बरमा ३ र डिसेम्बरमा २३ जना गरी २५ जना मात्रै पासपोर्टधारी (तेस्रो मुलुक) विदेशी पर्यटक आएका छन्। 

जबकि २०१९ को नोभेम्बरमा २६ हजार ७७२ जना र डिसेम्बरमा १७ हजार ८३२ जना पासपोर्टधारी पर्यटक आएका थिए। 

सन् २०२१ सुरु भएदेखि भने तेस्रो मुलुकका जम्मा ३२ जना मात्रै पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन। 

भ्रमणका लागि लुम्बिनी क्षेत्र खुला गरिएदेखि ५७ जना मात्रै तेस्रो मुलुकका पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोषको तथ्यांकमा छ। 

कोरोना महामारीकै कारण तेस्रो मुलुकमात्रै होइन नेपाल र भारतका पर्यटकसमेत लुम्बिनी आएका छैनन्। 

लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतका अनुसार २०२१ को पहिलो महिनामा ४१ हजार ३४४ जना नेपाली पर्यटक लुम्बिनी आएका छन्। जबकि २०२० को जनवरी महिनामा ६७ हजार ९२० जना पर्यटक लुम्बिनी आएका थिए।

२०२१ मा एक हजार ८७० जना मात्रै भारतीय पर्यटकले लुम्बिनीमा पाइला टेकेका छन्। स्न २०२० को जनवरीमा १३ हजार ९७८ जना भारतीय आएको तथ्यांक छ। 

२०२० सुरु भएको केही महिनामै कोरोनाका कारण लकडाउन भएपछि लुम्बिनीमा पर्यटकको आगमन बन्द भएको विकास कोषका सूचना अधिकारी बस्नेतले बताए। 

लुम्बिनीमा २०२० मा ४५ हजार ४६९ जना तेस्रो मुलुक, ३७ हजार २०६ भारतीय र एक लाख ९७ हजार २५२ नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। 

सन् २०१९ मा भने तेस्रो मुलुकका एक लाख ७४ हजार १५, भारतीय दुई लाख ६ हजार १७१ र नेपाली ११ लाख ७८ हजार १४० जनाले लुम्बिनी भ्रमण गरेका थिए। कोरोनाका कारण लुम्बिनी नगण्य मात्रै पर्यटक लुम्बिनी आएको तथ्यांकले देखाउँछ। 

गत वर्ष प्रदेश सरकारले लुम्बिनीमा २० लाख पर्यटकहरू भित्राउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको रूपमा मनाएको थियो। 

भ्रमण वर्ष सकिन एक महिना अगाडि नै कोभिड–१९ को महामारीले गर्दा विश्व नै लकडाउन बन्न पुग्यो, जसले लुम्बिनीमा २० लाख पर्यटकहरू भित्र्याउने प्रदेश सरकारको सपनामै सीमित हुन पुगेको थियो। 

सरकारले कोरोनाविरुद्धको खोप ल्याएर स्थिति सहज बनाउन खोजे पनि विदेशी पर्यटकहरू भने अझै विश्वस्त हुन सकेका छैनन्। 

प्रकाशित: Feb 12, 2021| 04:55 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।