काठमाडौं- बिहीबार साँझ लमजुङको दोर्दी गाउँपालिकाको चौताराडाँडामा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।
दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर प्रदेश ३–०१–०२२ च १३८३ नम्बरको जिप बिहीबार साँझ सवा ५ बजेतिर ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेर दुर्घटना भएको हो।
दुर्घटनामा आयोजनामा कार्यरत दुईजना इन्जिनियर र जिप चालकको घटनास्थलमै मृत्यु भएको डीएसपी गंगाबहादुर थापाले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन्।
धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जिनियर सुनिलकुमार साह, दोर्दी गाउँपालिका-६, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक घाइते भएका छन्।
विद्यार्थीहरू स्कुल बिदा भएपछि गाउँ जान जिप चढेका थिए।
घाइतेहरूको सदरमुकाम बेंसीसहरस्थित लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा अस्थायी प्रहरी चौकी कीर्तिपुरको प्रहरी टोली, नेपाली सेना र स्थानीयले घाइतेको उद्धार गरेका थिए।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी नेतृत्वको टोली घटनास्थल खटाइएको थियो।