विराटनगर– नेकपाले आगामी फागुन ८ गते विराटनगरमा प्रदेश स्तरीय जनसभा गर्ने भएको छ।
प्रदेशस्तरीय मूल जनपरिचालन समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी जनसभाको विस्तृत कार्ययोजना सार्वजनिक गरेको हो।
ताजा जनादेशमा जाने सन्देश दिनका लागि प्रदेश स्तरीय जनसभा आयोजना गरिएको नेकपा केन्द्रीय सदस्य तथा प्रचार प्रसार समिति संयोजक राजेन्द्र गौतमले बताए।
उनले अराजकता, विखण्डन र राष्ट्रिय आत्मसर्मपणवादविरुद्ध जनसभाको गर्ने तयारी गरिएको बताए।
समितिले फागुन ६ गते सुनसरीको इटहरी र मोरङको विराटचोकलाई केन्द्र मानेर १० हजारको संख्यामा मोटरसाइकल र्याली आयोजना गर्ने, फागुन ७ गते बिहान विराटनगर, इटहरी, धरान, इनरुवा, विराटचोक, दमक, बिर्तामोडमा प्रभातफेरी गरिने जनाएको छ।
फागुन ७ गते दिउँसो युवा विद्यार्थीको पहलमा मार्चपास गरिने कार्यक्रम तय गरिएको गौतमले बताए।
प्रेस संगठनको इन्चार्ज समेत रहेका नेता गौतमले फागुन ७ गते प्रेस संगठन नेपालको प्रदेश स्तरीय भेलाको पनि आयोजना गरिने बताए।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सम्वोधन गर्ने जनसभामा प्रदेश १ का १४ वटै जिल्लाबाट सहभागिता रहने मूल जनपरिचालन समिति सचिव विनोद ढकालले जानकारी दिए।
जनसभा भव्य बनाउन नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय समिति निर्माण गरिएको छ।