काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा स्थापना हुन लागेको १० अर्ब रुपैयाँ बराबरको कोषमा अर्थ मन्त्रालयले ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार अध्यक्ष कुमार पन्तसहित एनआरएन टोलीसँगको भेटमा सरकारले कोष सञ्चालनका लागि तत्काल ५० करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।
एनआरएनएले पूर्वाधारमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गर्ने तयारी गरिरहेको छ। त्यसका लागि छुट्टै कम्पनी आवश्यकता पर्छ। मन्त्री पौडेलले तत्काल कम्पनी खोल्न निर्देशन दिएका छन्।
एनआरएनएले कम्पनी दर्ता प्रक्रिया अघि बढाइसकेको छ। अध्यक्ष पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीको सेयर हुनेछ।
कोषमा गैरआवासीय नेपालीलाई लगानीका लागि आईपीओ जारी गरिनेछ।
विदेशमा रहेका नेपाली नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताउँदै पन्तले लगानीका क्षेत्रबारे पनि प्रस्ताव आइसकेको जानकारी दिए।
भेटमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायत सहभागी थिए।