काठमाडौं– यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेका छन्।
नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी बढाएको पेट्रोल र डिजेलको मूल्य फिर्ता लिन यातायात व्यवसायीले माग गरेका हुन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले ०६९ यता निगमले पेट्रोल र डिजेलको मूल्य पटकपटक बढाएको तर यातायातको भाडा समायोजन नगरिएको बताए।
पेट्रोलियमको मूल्यवृद्धि पटकपटक हुँदा पनि यातायातमा वैज्ञानिक भाडादर कायम हुन नसकेको भन्दै पछिल्लो पटक निगमले गरेको मूल्यवृद्धि फिर्ता लिनुपर्ने कर्माचार्यले बताए।
‘२०६९ मा वैज्ञानिक भाडादर कायम गर्ने सम्बन्धमा एउटा सम्झौता गरेका छौं,’ कर्माचार्यले भने, ‘यातायातको पार्टपुर्जा, लुब्रिकेन्ट्स लगायतमा मूल्य बढ्दा पनि यातायातको भाडा समायोजन गर्ने गरी त्यो कार्यान्वयन सरकारले गरिरहेको छैन।’
उनका अनुसार यातायातका पार्टपुर्जाको वर्षेनी बढ्ने मूल्य र पेट्रोलियम पदार्थको मूल्य बढ्दा भाडा दर नयाँ कायम हुनुपर्ने सहमति यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको थियो। सो अनुसार यातायातको वैज्ञानिक भाडा दर समायोजन नगरेको सरकारले पेट्रोलियमको मूल्य बढ्दा समेत आफूहरुको समस्यामा ध्यान नदिएको यातायात व्यवसायीको गुनासो छ।
आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको थियो। खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य बढाइएको छ।
बढेको मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य ११२ रुपैयाँ प्रतिलिटर, डिजेल तथा मटीटतेलको प्रतिलिटर ९५ रुपैयाँ र ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय रुपैयाँ कायम भएको छ।