काठमाडौं– नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधिमण्डलले ०७७ माघ २८ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटी अटोमोवाइल व्यवसायका समसामयिक विषयमा छलफल गरेकोे छ।
भेटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दै आएको बताउँदै सवारीसाधन आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरुबारे छलफल गरेका थिए।
उक्त छलफलमा नाडाका उपाध्यक्ष तथा सवारीसाधन समितिका सभापति करण चौधरीले आर्थिक वर्ष २०७७–०७८ को बजेटले नेपालमा आधिकारिक विक्रेता नभएका कुनै कम्पनीले सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारी साधन तथा ढुवानी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिनेछ भन्ने नयाँ व्यवस्थाले उत्पादक कम्पनीद्धारा नियुक्त जुनसुकै बिक्रेताबाट पनि सवारी साधन आयात गर्न सक्ने अवस्था कायम रहन गई उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको विषयमा मन्त्रीलाई जानकारी गराएका थिए।
छलफलमा नाडाका महासचिव तथा स्पेयर पार्टस् समितिका सभापति सुनिल रिजालले स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरुबारे मन्त्रीलाई जानकारी गराएका थिए।
छलफलका क्रममा अर्थमन्त्री पौडेलले नेपालमा विद्युतिय सवारी साधनहरुको प्रशस्त सम्भावना देखिएको सन्दर्भमा अव अटोमोवाइल व्यवसायीहरुले नेपालमै विद्युतिय सवारीसाधनको उत्पादन थाल्नुपर्ने र त्यसका लागि आवश्यक नीति नियमहरुको तर्जुमा आफूले गरिदिने बताएका थिए।
छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र सहकोषाध्यक्ष विक्रम सिंहानियासमेतको उपस्थिति थियो।