आइतबार, असोज ४, २०८३

नेपाल लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांश पारित

नेपाल लाइफ इन्स्योरेन्सको प्रस्तावित ५१ प्रतिशत लाभांश पारित भएको छ।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सको प्रस्तावित ५१ प्रतिशत लाभांश पारित भएको छ।

कम्पनीको बुधबार सम्पन्न २० औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको ३१ प्रतिशत बोनस सेयर तथा प्रति सेयर २० (करसहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो। बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक ७ अर्ब १९ करोड ९९ लाख हुनेछ।

अध्यक्ष गोविन्दलाल संघाईले कम्पनीले कुल बिमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३०.०९ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको बताए। उनले दुई दशकमा जीवन बिमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दशकको अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने बताए।

साना लगानीकर्ताहरुको समेत कम्पनीको सेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्रतिसेयर अंकित मूल्य सयको व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पारित भएको छ।

कम्पनीको लगानी एक खर्ब पाँच अर्ब ५७ करोड रुपैयाँ छ भने जीवन बिमा कोष १०१ अर्ब ७८ करोड रुपैयाँ र सेयरधनी कोष आठ अर्ब ८५ करोडभन्दा बढी रहेको जनाइएको छ। 

प्रकाशित: Feb 11, 2021| 05:08 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्